Logo

प्रवास

सिड्नीमा मोटरसाइकल दुर्घटनामा एक नेपाली विद्यार्थीको निधन



अष्ट्रेलिया । पश्चिम सिड्नीमा हिजो साझ मोटरसाइकल दुर्घटना हुदा, एक नेपाली विद्यार्थीको घटनास्थलमै निधन भएको छ । निधन हुने भक्तपुर ठिमीका २१ वर्षिय श्रेष्ठ थरका नेपाली विद्यार्थी रहेको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक देव गुरुङले पुष्टी गर्नुभएको छ । त्यस्तै न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्तीमा पश्चिम सिड्नीको हबरफिल्डमा दुर्घटना भएको भन्दै आपत्तकालिन सेवामा सम्पर्क गरिएको उल्लेख छ । कामबाट फर्कने बेलामा दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक २१ वर्षिय युवकको घटना स्थलमै निधन भएको विज्ञप्तीमा उल्लेख छ । मोटरसाइकलले सडकमा राखिएको ट्राफिक चिन्हलाई ठक्कर दिएर दुर्घटना भएको समेत प्रहरीको भनाई छ । ३ वर्ष अघि अष्ट्रेलिया आएका यी विद्यार्थी हालैमात्र नेपाल गएर मोटरसाइकलको लाइसेन्स लिएर आएको उनीसंगै बस्दै आएका एक साथीले नेपालट्युबलाई जानकारी दिनुभयो । उनले साथीको मोटरसाइकल मागेर चलाइरहेको समेत बुझिएको छ । मोटरसाइकल जोखिम हुने भन्दै पटक पटक नचलाउन समेत भनेको ती साथीले बताउनुभयो । ‘मैले भनेको मानेको भए, आज यस्तो दुखद घटना हुदैन थियो’ ती साथीले भन्नुभयो । मृतक युवक निकै मिजासिलो र मनमा पाप नभएको मान्छे रहेको भन्दै यत्ति सानै उमेर गुमाउनुपर्दा निकै दुख लागेको ती साथीले बताउनुभयो ।

मृतकको परिवारलाई हिजो बेलुका नै घटना बारे खबर भइसकेको छ । एनआरएनए न्युसाउथ वेल्सका टिमले नेपालस्थित परिवारसंग छलफल गरेर शव पठाउने तयारी समेत थालिएको छ । मृतकको सुपर र बिमाबाट समेत क्षतिपुर्ति दाबी गरेर परिवारलाई उपलब्ध गराउन समेत सहयोग गर्ने संयोजक देव गुरुङले जानकारी दिनुभयो ।

एक साता अघि पनि सिड्नीमै फुड डेलिभरी गर्ने एक नेपाली युवक मोटरसाइकल दुर्घटनामा परेर हात भाच्चिएको छ । धेरै लेन भएको सडकमा मोटरसाइकल चलाउन जोखिम हुने गर्छ । बजेट डिरेक्टको एक तथ्याकं अनुसार सन् २०११ देखि २०२० सालमा अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परेर २ हजार ८१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १२ : १० बजे