गोरखा। लामो समयदेखि खाना पकाउने ग्यासको अभाव भएपछि सिरानचोक गाउँपालिका–४ चोरकाटेका स्थानीयवासीले मंगलबार सडकमा रित्तो ग्यास सिलिण्डर राखेर विरोध प्रदर्शन गरेका छन्।
ग्यासको अभावका कारण दैनिक खाना पकाउन समस्या भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्। स्थानीयका अनुसार चोरकाटे क्षेत्रमा गत असारदेखि नै ग्यासको अभाव हुँदै आएको छ।
स्थानीयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधान नभएपछि सडकमा उत्रिनुपरेको बताएका छन्। उनीहरूका अनुसार चोरकाटेमा आउने ग्याससमेत गोरखा बजारतर्फ लैजाने गरिएको र गाउँमा पर्याप्त मात्रामा वितरण नहुँदा अभाव बढेको हो।
स्थानीय मदन श्रेष्ठले असारदेखि नै ग्यासको हाहाकार रहेको बताए। “आएको ग्यास पनि सबै गोरखा बजार मात्र जान्छ, हामीले पाउँदैनौँ,” उनले भने।
ग्यास उपलब्ध नहुँदा घरायसी कामकाज प्रभावित हुनुका साथै खाना पकाउनसमेत समस्या भएको स्थानीयको भनाइ छ। स्थानीयले तत्काल नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।








प्रतिक्रिया