Logo

मुख्य समाचार

बैतडीमा शिक्षक बिष्टको हत्याका अभियुक्त सार्वजनिक



बैतडी । बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गर्दै बिहीबार हत्याका अभियुक्त सार्वजनिक गरेको हो ।

जिल्लाको पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजा बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरु दुवै जना श्रीमान–श्रीमति हुन् ।बिमला बोहरा कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी छन् ।

पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा उनका श्रीमान प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने ‘पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

छात्रबासमै हत्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । घटनामा अरु संलग्नताका बिषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

शिक्षक बिष्टको शव पौष २ गते दिउँसो फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन समेत गरिएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ३ : १६ बजे