Logo

मुख्य समाचार

कर्णालीका हिमाली पदमार्गमा सुरक्षा चुनौती, आश्रयस्थलको माग



सुर्खेत । हिमपहिरो, भारी हिमपात र अत्यधिक चिसोका कारण कर्णालीका उच्च हिमाली क्षेत्रमा मानवीय क्षति भइरहेका बेला पर्यटकीय पदमार्गमा सुरक्षित आश्रयस्थल निर्माण गर्न माग गरिएको छ । यार्सागुम्बा संकलनका क्रममा हिमाली पाटनमा ज्यान गुमाउनेदेखि हिमपातले बाटो अवरुद्ध हुँदा पर्यटकहरु अलपत्र पर्ने घटनासम्मले दुर्गम हिमाली क्षेत्रको सुरक्षा चुनौती उजागर गरेका छन् ।

पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले हुम्ला, मुगु, डोल्पा, जुम्ला र जाजरकोटका उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा अस्थायी आश्रयस्थल र विश्रामस्थल निर्माण गर्न सरकारसँग माग गरेका हुन् । हिमाली क्षेत्रमा हिँड्दाहिँड्दै रात परेमा, अचानक हिमपात भएमा वा प्रतिकूल मौसमका कारण यात्रा रोक्नुपरेमा सुरक्षित रूपमा बस्न मिल्ने संरचना आवश्यक रहेको उनको भनाइ छ ।

कर्णालीका हिमाली क्षेत्रमा मानवीय क्षति भएका घटनाले पनि जोखिमको गम्भीरता देखाउँछन् । डोल्पाका विभिन्न पाटनमा यार्सागुम्बा संकलनका क्रममा चार वर्षमा १८ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार मुगुमा १० र जुम्लामा दुई जनाको पनि यार्सागुम्बा संकलनका क्रममा मृत्यु भएको उल्लेख छ ।

२०८० वैशाख २३ गते मुगु र जुम्लाको सीमा क्षेत्र च्यार्खु भञ्ज्याङमा यार्सागुम्बा संकलनका लागि गएका तीन जना हिमपहिरोमा परी मृत्यु भएका थिए भने नौ जना घाइते भएका थिए । डोल्पाका विभिन्न पाटनमा पनि हिमपात, अत्यधिक चिसो र लेक लाग्ने समस्याका कारण संकलकको मृत्यु हुने गरेका घटना सार्वजनिक भएका छन् ।

यस्ता घटना पर्यटकसँग प्रत्यक्ष सम्बन्धित नभए पनि उच्च हिमाली क्षेत्रमा मौसमको जोखिम, दुर्गम भूगोल र आपत्कालीन उद्धारको कठिनाइ कति गम्भीर हुन सक्छ भन्ने देखाउँछन् । हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकका लागि पनि प्रतिकूल मौसममा सुरक्षित बास, सञ्चार सम्पर्क र उद्धारको व्यवस्था आवश्यक रहेको झाँक्रीको माग छ ।

उपल्लो डोल्पादेखि लिमी र मुगुमसम्म आश्रयस्थलको माग

झाँक्रीले उपल्लो डोल्पाका तीनवटै गाउँपालिकाका हिमाली क्षेत्र, हुम्लाको माथिल्लो हिमालय क्षेत्र तथा लिमी, मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका उच्च हिमाली भूभाग तथा जुम्लाका हिमाली क्षेत्रमा अस्थायी आश्रयस्थल निर्माण गर्नुपर्ने बताएका छन् । जाजरकोटका पर्यटकीय क्षेत्रमा पनि आवश्यकताअनुसार यस्ता संरचना बनाउनुपर्ने उनको माग छ ।

यीमध्ये कतिपय पदमार्ग बस्ती र नियमित आवास सुविधाबाट टाढा छन् । लामो दूरी पैदल हिँड्नुपर्ने, मौसम तत्काल बदलिन सक्ने र हिमपातका कारण यात्रा अवरुद्ध हुन सक्ने भएकाले पर्यटकलाई सुरक्षित स्थानमा आश्रय लिन कठिन हुन सक्छ ।

यस्तो जोखिम न्यूनीकरण गर्न पदमार्गको दूरी, उचाइ, मौसम र पर्यटकको आवागमनका आधारमा सुरक्षित स्थान पहिचान गरी अस्थायी आश्रयस्थल निर्माण गर्नुपर्ने झाँक्रीको माग छ । उनले पर्यटकीय रुटमा विश्रामस्थल निर्माण तथा सञ्चार सुविधा विस्तार गर्न पनि आग्रह गरेका छन् ।

जोखिमयुक्त ठाउँमा होइन, सुरक्षित स्थानमा संरचना

हिमाली क्षेत्रमा निर्माण गरिने संरचना सुविधासम्पन्न होटल नभई प्रतिकूल मौसममा पर्यटकलाई अस्थायी आश्रय दिन सक्ने प्रकृतिका हुनुपर्ने देखिन्छ । तर हिमपहिरोको जोखिम भएका ठाउँमा जथाभावी संरचना बनाउँदा थप खतरा निम्तिन सक्ने भएकाले प्राविधिक अध्ययन गरी सुरक्षित स्थान छनोट गर्न आवश्यक छ ।

आश्रयस्थलसँगै मौसमसम्बन्धी सूचना, सञ्चार सम्पर्क र आपत्कालीन उद्धारको व्यवस्था गर्न सके पर्यटकको सुरक्षा थप प्रभावकारी बनाउन सकिन्छ । पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पर्यटकको संख्या बढाउने योजनासँगै पदमार्गमा हुन सक्ने जोखिम न्यूनीकरणका उपाय पनि प्राथमिकतामा राख्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ ।

आगामी बजेटमा सोचिने मन्त्री खड्काको भनाइ

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले हिमाली क्षेत्रमा अस्थायी आश्रयस्थल निर्माण गर्ने विषय आगामी बजेटमा सोचिने बताएकी छन् ।

हिमाली पर्यटनको विकाससँगै पर्यटकको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग उठिरहेका बेला प्रदेश सरकारले आगामी बजेटमा यस विषयलाई कसरी सम्बोधन गर्छ भन्ने चासो बढेको छ। प्रदेश सरकारले खर्क संरक्षणसम्बन्धी नीति ल्याए पनि त्यसले हिमाली पदमार्गमा आश्रयस्थल निर्माण र पर्यटकको सुरक्षामा कस्तो योगदान पु¥याउँछ भन्ने हेर्न बाँकी छ । खर्क संरक्षण, स्थानीय समुदायको आवश्यकता र पर्यटकीय पदमार्गको व्यवस्थापनलाई समन्वय गरेर अघि बढाउन सके पर्यटन विकासमा समेत सहयोग पुग्न सक्छ ।

कर्णालीका दुर्गम हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न प्राकृतिक सौन्दर्य र गन्तव्यको प्रचारप्रसार मात्र पर्याप्त हुँदैन । जोखिमयुक्त पदमार्गको पहिचान, सुरक्षित बास, सञ्चार सुविधा र आपत्कालीन उद्धारको व्यवस्था सुनिश्चित गर्न सके मात्रै हिमाली यात्रा सुरक्षित र व्यवस्थित बनाउन सकिनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बुधबार  ७ : १६ बजे