Logo

समाचार

संस्कृतिको रक्षाका लागि मैले जित्नैपर्छ : कुन्ती पोख्रेल


२४ कार्तिक २०७९, बिहिबार  

276
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुनगइरहेको निर्वाचन आउन अब ९ दिन मात्रै बाँकी छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि विभिन्न पार्टी तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेताहरु आफ्ना चुनावी क्षेत्रमा भएभरको बल निकालेर प्रचार अभियानमा जुटेका छन् । त्यसैगरी काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएकी छिन् । उनले बुधवार काठमाडौं क्षेत्र नं. २ अन्तर्गत तीनकुने, गैरीगाउँ, सिनामंगललगायतका स्थानीयमाझ भेटघाट तथा घरदैलो कार्यक्रम गरेकी छिन् । भेटकाक्रमा पोख्रेलले पुराना दलका नेताले पटक–पटक प्रतिनिधित्व गर्दा पनि यस क्षेत्रको विकास र धर्म, संस्कार, संस्कृतिको रक्षा गर्न नसकेको भन्दै रक्षाको लागि आफूलाई मतदान गर्न मतदातासँग आग्रह गरेकी छिन् ।

उनले पुराना नेताले धर्म निरपेक्षताको नाममा धर्म, संस्कार र संस्कृतिको धज्जी उडाएकोप्रति आपत्ति जनाउँदै संस्कारको राजनीति विकासका लागि आफूले जित्नुपर्ने अडान राखिन् । ‘यस क्षेत्रका स्थानीयबाट राम्रो समर्थन पाएकाले म र मेरो टिम उत्साहित छौं,’ पोख्रेलले भनिन् । ‘एजेन्डा क्लियर भएकाले हाम्रो जित सुनिश्चित भइसकेकाले खाली आधिकारिकताको लागि मंसिर ४ कुर्नुपर्ने हो,’ कुन्तीले बताइन् । मैले यस क्षेत्रमा जितेपछि जनताका आवश्यकता परिपूर्ति गर्नेगरी कानुन निर्माण गर्न दाबब दिन्छु,’ पोख्रेलले प्रतिवद्धता जनाइन् । उनले सफा, सुन्दर, सुरक्षित शहर र दीगो विकासका लागि राप्रपाबाट आफू आएकाले ‘हलो’मा मत दिई विजयी बनाउन मतदातासँग आग्रह गरिन् ।

‘सडक निर्माणमा ढिलासुस्ती, पर्यटन प्रवद्र्धनमा पछौटेपन, खानेपानी, ढलनिकास र करिडोरमा भएको लापरबाहीले यस क्षेत्रका जनता मारमा परेकोप्रति आपत्ति जनाउँदै आफूले चुनाव जितेपछि चुस्त, दुरुस्त र दीगो विकासमा कठिवद्ध रहने छु,’ पोख्रेलले प्रतिवद्धता जनाइन् । उनले यस क्षेत्रका धार्मिक मठमन्दिर, ऐतिहासिक पुरातात्विक महत्वका सालीदनीजस्ता धरोहरहरु धर्मनिरपेक्षताका कारण अस्तित्वबाट हराउन लागेको भन्दै त्यस्ता धरोहरहरुलाई धार्मिक पर्यटनमा विकास गर्न कानुन आवश्यक रहेकाले आफूले त्यो कानुन बनाउन संसद्मा आवाज उठाउने बताइन् । यस क्षेत्रका झन्डै ६५ प्रतिशत जनता विगत ३० वर्षदेखि खानेपानी, ढलनिकास र फोहोरमैलाको समस्याले जाँजिएको भन्दै आफूले जितेपछि समस्या समाधानका लागि स्थानीय निकायसँग समन्वय गरी संसद्मा बलियो आवाज उठाउने पनि प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा सहभागी स्थानीयले यस क्षेत्रमा जहिले पनि बाहिरबाट आएका उम्मेदवारहरुले चुनावका बेला ठूला–ठूला विकासे योजना लिएर आउने गरेको र चुनावपछि हराउने प्रवृत्तिले यसपालि नयाँ विचारसहित आएका स्थानीय युवा उम्मेदवारलाई मत दिने बताए । ‘गैरीगाउँका स्थानीयले पटक–पटक बाहिरबाट आउने चुनाव जिते काम गर्न नसकेपछि हराए । त्यसैले पनि यसपटक बाहिरबाट आउने उम्मेदवारलाई मत नदिने विचारमा छौं । यस क्षेत्रको मर्म, भाजना र समस्या बुझेर धेरै पहिलादेखि समाजसेवा गर्दै आउनुभएको कुन्ती पोख्रेल आउनुभएकाले उहाँलाई नै मत दिने विचारमा छौं ।’

यसरी दलको दम्भमा पटक–पटक दोहोरिएर उम्मेदवार बनेका पुरना नेताप्रति जनता निकै बिच्किएको देखिन्छ । विभिन्न दलबाट भड्किएका मतदाता राप्रपाकी कुन्तीको पक्षमा देखिएकाले पुराना दलबाट दोहोरिएर आउने उम्मेदवारको लागि काठमाडौं २ को निर्वाचन फलामको चिउरा सवित हुने स्थानीयको ठम्याइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : २२ बजे