Logo

समाचार

युवा समूह तथा युवा क्लब कुनै पनि राजनीतिक दलको हुँदैन : अमरसिंह पुन



रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश सभा सदस्य रोल्पा क्षेत्र नं.१(ख) का उम्मेद्वार अमरसिंह पुनले युवा समूह तथा युवा क्लब कुनै पनि राजनीतिक दलको हुन नपर्ने बताएका छन् । नव प्रगतिशील युवा समूह परिवर्तन गाउँपालिका-४ पाछाबाङ रोल्पाको दोस्रो वार्षिक उत्सवको ब्यानर तथा दिप प्रज्ज्वलन गर्दै, कार्यक्रम प्रमुख अतिथि समेत रहेका पुनले यस्तो बताएका हुन । साथै कार्यक्रममा समाजका सबै व्यक्तिहरु मिलेर खेलकुद र संस्कृतिको संरक्षण गर्नु पर्ने पुनको भनाइ छ । रोल्पाको विकासका लागि लोकतान्त्रिक बाम शक्तिहरु एक ठाउँमा होमिएको जिकिर गर्दै, रोल्पा शिक्षा, स्वास्थ, पूर्वाधार, उद्यम, कृषि, वातावरण, प्रविधि, उर्जा तथा संस्कृति लगायतमा आफूहरुले विकास गर्ने समेत बताए ।

हिजोको दिनमा कालापोखरा भन्ने ठाउँमा परम्परागत मेला लाग्दै गरेकोमा अहिले आएर विविध प्रतियोगिता आयोजना गरेर खेलाडीलाई प्रद्धिस्पर्धा गराउनु यहाँका खेलाडीहरुको कलामा विकास हुने समेत पुनले बताए । ‘हिजो यहाँ एक अर्कामा वर्ग दुश्मनको व्यावहार गर्दै आएकोमा आज देशको रक्षा, संविधानको रक्षा, राजनीति स्थायीत्व तथा नेपाली जनताका हक अधिकारका लागि विचारधारा मिल्ने शक्तिहरु एउटै मञ्चमा उभिएका छौं ।’ पुनले भने, ‘हामी लोकतान्त्रिक बाम गठबन्धन बाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर-४ मा निर्वाचनमा होमिदै छौं ।’

उनले प्रतिनिधि सदस्यको प्रत्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहा-सचिव बर्षमान पुनमगर(अन्नत) लाई गोलाकार भित्रको हँसियाहथौडा र प्रदेश सभा सदस्यको प्रत्यक्षमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा रोल्पा क्षेत्र नं.१(ख)को रुखमा आफ्नो अमुल्य मत दिएर जिताउन र समानुपातिकको प्रतिनिधि तथा प्रदेश सभामा आफ्नो चिन्हमा मतदान गरि जिताउन समेत आग्रह गरेका छन । वार्षिक उत्सवमा उपस्थित भएका सबैलाई मङ्सिर-४ गतेका दिन आ-आफ्नो अमुल्य मत दिन समेत पुनको आग्रह छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ०५ बजे