Logo

Breaking News 1

नेपालमा भ्रष्टाचार: कोही चोखो छ की ?

बजारमा भ्रष्टाचार देखिँदैन, तर हुन्छ । बजार भ्रष्टचारको मुख्य स्रोत हो ।



नेपालमा भ्रष्टाचारलाई अवसरको रुपमा लिइन्छ । अवसर त्यतिखेर प्राप्त हुन्छ जब कानुन कमजोर बन्छ । निर्वाचन महँगो हुन्छ । पद्दति अस्थिर बन्छ । न्यायालय स्वतन्त्र हुँदैन । कर्मचारितन्त्र निरीह बन्छ । नेता, प्रशासक, व्यापारी, व्यवसायि, समाज, पत्रकार, कर्मचारी सबै यो अवसरमा मग्न हुन्छन् । र एकले अर्कालाई दोषारोपण गर्दै कानुन र पद्धतिको फाइदा लिन थाल्छन् । ति अवसर के के हुन सक्छन् ? कस्ता कस्ता ठाउँमा अवसर छन् ? अवसरलाई प्राप्त गर्ने औजारहरू के के हुन सक्छन् ? ती विषयहरूलाई हेरौं ।

बजार

बजारमा भ्रष्टाचार देखिँदैन । तर हुन्छ । बजार भ्रष्टचारको मुख्य स्रोत हो । व्यापारी, व्यवसायी, स्वास्थ्य, शिक्षण संस्था सबैमा भ्रष्टाचारको प्रवृत्ति देखिन्छ । यहीबाट भ्रष्टचारको सोच सुरु हुन्छ । र सिंहदरबारसम्म पुग्छ । बजारमा एकाधिकार छ । काटेलिङ छ । प्रतिस्पर्धा कम छ । उपभोक्ता सचेत नहुँदा नाफाखोरी बढेको छ । विद्यार्थीको महिनाको फि जति लिन सक्यो त्यति लिँदा हुन्छ । साधारण उपचार गर्न सर्वसाधारणले सक्तैन । मूल्यवृद्धि दोहोरो अङ्कमा छ ।डाक्टर, इन्जिनियर पढाउन श्रमको मूल्यले पुग्दैन । भाडा चर्को छ । महँगो छ । यो अवसर प्राप्तगर्न मानिसले भ्रष्टाचार गर्छ । अनियमितता गर्छ । अनियमितता भ्रष्टाचार गरेको पैसा बजारमा तिर्छ । बजारमा जति बुझाएपनि कम हुन्छ । यसको अवसर नपाउने जनताले शिक्षा स्वास्थ्य आवश्यकताका लागि महंगो मूल्य तिर्छन । तर जनतालाई थाहा हुदैन, भ्रष्टाचारको मुख्य स्रोत बजार हो । उनीहरु भन्छन्, महंगी बढ्यो। तर यसको अर्थ बजार भ्रष्टाचारबाट पालित छ । निगरानीमा छैन ।

उद्योग, आपूर्ति, यातायात, शिक्षा, स्वास्थ्य लगायतका सरकारी निकायहरु बजारको कमजोरी नियन्त्रण गर्न प्रभावकारी देखिएनन । बजार र सरकारी निकायकै बिचमा मिलेमतो पनि देखिन्छ । यसबाट बजारको भ्रष्टाचार बढ्दै जान्छ । जसले सरकारी भ्रष्टाचारलाई प्रोत्सान गरिरहन्छ । जति नाफा लिए पनि हुन्छ बजारमा । कानुनले छुँदैन । छोएका पनि उम्किन्छन् । जबसम्म बजार स्वचालित, व्यवस्थित गर्न सकिँदैन । तबसम्म सिंहदरबारहरुको भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकिँदैन ।

राजनीति

‘व्यक्तिगत सम्पत्ति र स्वार्थले राजनीतिलाई भ्रष्ट बनाउँछ’ नेल्सन मंडेला। ‘पद राजनीति र शक्ति एकै व्यक्तिमा भएमा व्यक्ति भ्रष्ट बन्छ,’ यो नेपालमा चरितार्थ छ । राजनीति महँगो हुँदैछ । पैसा खर्च नगरी चुनाव जितिदैन। निष्ठाको राजनीति हराउँदै गएको छ। व्यापारीको चन्दा, कर्मचारीको सहयोग नेतालाई भएपछि अवसर दिनै पर्यो । मन्त्री, मेयर भएपछि ठेक्कापट्टा, लाइसेन्स, खरीदविक्री, सरुवा, बढुवामा कमाउने अवसर प्राप्त हुन्छ भन्ने धारणा बढ्यो । र यसैका लागि पछि लाग्ने कर्मचारी, व्यापारी प्रशासक थुप्रै छन । कानुनले अधिकार दिएको हो, अवसर होइन । ठुला पद, मन्त्री र नेता भ्रष्टाचारको मुद्दाबाट उम्कन्छन् । राजनीति, भ्रष्टाचारको अवसर दिने मूल थलो बन्दै छ । जबसम्म राजनीति कठोर हुँदैन, अनुशासित हुँदैन, तबसम्म भ्रष्टचार घट्दैन ।

कर्मचारितन्त्र

‘कर्मचारितन्त्र सरकारभन्दा राम्रो हुन सक्दैन’ ठेक्कापट्टा, खरिदविक्रीको प्रतिशत आफूले लिएपछि नेतालाई दिनै पर्यो । नभए राम्रो ठाउँमा सरुवा हुदैन र कमाउने अवसर प्राप्त हुँदैन ।सवारीसाधनको लाइसन्स खुल्लमखुल्ला खिरिद बिक्रीमा छ । वैदेशिक रोजगारमा अनलाईन प्रणाली छ । तर पैसा नभई अनलाइन खुल्दैन ।होल्डिङमा बस्छ । अतिरिक्त पैसा दिएपछि खुलिहाल्छ । व्यवसायीले कोटा किन्छन् र अढाई देखि तीन लाख सम्ममा श्रमिकलाई कोटा बिक्री गर्छन् । देख्न मात्र मेनपावर, भित्रभित्र मान्छेको व्यापार हुन्छ। यसमा कर्मचारी र राजनीति नेता दुवै मिल्छन् । एयरपोर्टबाट श्रम स्वीकृति बिना कामदार पठाउने ठूलै धन्दा छ । ठगी कसले हेर्ने ? घरदेखि होटलसम्म पुग्छ यो अवसर । कर्मचारीलाई पनि थाहा छ । मालपोतमा लाभांस करको हिसाबकिताब कसले राख्ने ? जग्गा कित्ताकाट गर्नै पर्दैन ।

अंशवण्डा गर्नेको नाता पनि मिल्दैन तर अंशवण्डा हुन्छ । कित्ताकाट रोकियो तर यसैमा भ्रष्टचार बढी अवसर प्राप्त छ । सार्वजनिक जग्गा दर्ता हुन्छन् । सरकारी सम्पत्ति कानुनविपरित लिजमा जान्छन् । पैसा दिने व्यापारी जतिपनि छन् । यी सबैको साँठगाँठमा राजनीति र कर्मचारी दुवैको काम बन्छ । यातायात, राहदानी खानेपानी, सञ्चार, लाइसेन्स लिने, दर्ता नविकरण, खरिद बिक्री सबैमा यो अवसर प्राप्त छ । यो अबसर कागजमा देखिँदैन । तर जनताले भोगेका छन् । यस्तै ठाउँमा सरुवा हुन पैसा तिर्नुपर्छ । राम्रा र अनुभवी कर्मचारी सेवा प्रवाह बिन्दुमा कमै पुग्छन् । किनकि त्यहा दुबै अवसर प्राप्त हुन्छ ।माथि पाल्ने र आफू पालिने ।

पत्रकार जगत

पत्रकारहरुलाई थाहा हुन्छ । कसलाई उठाउनु पर्छ र कसलाई पछार्नु पर्छ । उनीहरुलाई भ्रष्टाचारको विषयमा थाहा हुनसक्छ, तर भन्दैनन् ।कतिपय भनी साध्य छैन भन्छन् र भन्दैनन् । कतिपय अवसर प्राप्त हुन्छ र भन्दैनन् । बिज्ञापन, वृत्तचित्र, सहयोग, सम्बन्धले लेख्दैनन । भ्रष्टचार गर्नेहरु कति उचाईमा छ त्यो हेरेर उनीहरु लेख्छन । र, कहिलेकाहीँ लेख्दैनन । राजनीति आस्था र सम्बन्ध आधारमा सूचना लुकाउँछन्, लुकाउनुपर्ने सूचना देखाइदिन्छन । सोसल मिडियाहरुको कति विश्वास गर्नु । पत्रकारहरू राजनीतिमा विभाजित छन् । कर्मचारीतन्त्रबाट पालित पनि छन् । उनीहरु मनपरेको कसैको प्रशंसा गर्छन् जो प्रशंसा योग्य हुँदैनन् । इमान्दार पत्रकार पनि छन् । इमान्दारिताको आवाज शब्दमा मात्र सीमित हुन्छ । जो कराउँछन, चिच्याउँछन् उनीहरूको आवाज सिंहदरबारसम्म पुग्छ र कहिलेकाहीं अवसर मिल्छ । यो अवसरले भ्रष्टाचारलाई थप बल पुर्याएको छ ।

समाज

समाजले पैसालाई इज्जत मान्छ । श्रम नगरी पैसा प्राप्त गर्नुलाई चतुर्याई ठान्छ । विवाह, बर्तबन्ध, न्वारन, जन्मउत्सव, विवाहउत्सव दसैं ,तिहार, तीज महंगो हुँदै गएको छ । पार्टी प्यालेस फस्ट्याएका छन् । विलासिता बढेर गएको छ । सोझो र इमान्दारको समाजमा कदर छैन । महंगा गाडी, घरजग्गा, सहर प्रतिको आकर्षण बढेर गयो । प्रतिस्पर्धाले व्यक्ति छोटो बाटोबाट सम्पत्ति कमाउन उत्साहित छ । यसले सार्वजनिक, निजी सबै क्षेत्रमा अनियमितता बढाएको छ । भ्रष्टाचार बढेको छ । तर यही भ्रष्टाचारले समाजको सीमान्त वर्गलाई महंगीमा धकेलि रहेको छ ।

नागरिक संयन्त्र र बाह्य सहयोग

भ्रष्टाचार विरुद्धमा नागरिक समाजको एउटै स्वर छैन । यी पनि आफ्नै बौद्धिक दर्शन र राजनीतिमा विभाजित छन् । उपभोक्ता समिति ठेक्कापट्टा गर्न थाले । निगरानी पैसामा बिक्यो । स्थानीय निर्माण सेवाहरु कमसल बने । परामर्शदाता हरुले लिने रकममा कमिसनको जालो पसेको छ । यसले राजनीति र कर्मचारीतन्त्रलाई लोभ्याउँछ । अहिले प्रदेश, पालिकाहरुमा यो रोग सरेको छ । आफ्नो काम गर्नुभन्दा यस्तैको पछि लाग्नमा कर्मचारीले फाइदा देख्न थालेका छन् । अघोषितरुपमा यो भ्रष्टाचारको अवसर बन्दैछ । विश्व बैक एडीबी, बहुपक्षीय ठूला सहयोग र सम्झौतामा सानालाई के अवसर प्राप्त होला र? आकाशको फल आँखा तरी मर्।

दलाल

दलालहरूको कुनै भेष, भाषा, धर्म, संस्कृति, जात हुँदैन । ठेक्कापट्टा औषधि खरिद, जग्गा लिज, आयात निर्यात, सम्झौता सबैमा यिनीहरुको मजबुत पकड छ। किचन देखि कोठासम्म उनीहरूको उपस्थिति हुन्छ । ठूला नियुक्तिदेखि पजनि सम्मका रकम कलम यिनीहरुलाई थाहा छ । भ्रष्टाचारको अवसर जुटाउने देखि देखाउने सम्म दलालहरुले गर्छन् ।अहिलेको राजनीति र प्रशासन यसैको चंगुलमा फसेको छ ।

किसान, विद्यार्थी, जनता भ्रष्टाचार गर्दैनन् । तर भ्रष्टाचारको मारमा परेका छन् ।जबसम्म भ्रष्टाचार र अनियमितता विरुद्धका कानुन पूर्ण कार्यान्वयन हुँदैनन् तबसम्म यो अवसर सरकार र गैरसरकारी दुबैमा बढिरहन्छ ।कानुनको शासनले नै भ्रष्टाचार निर्मूल गर्छ । कानुनले दुवै अवसर दिन्छ । दण्ड सजाय र सदाचार । भ्रष्टचारको अवसरलाई कानुनको शासनले मात्र नियन्त्रण गर्न सक्छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ०३ बजे