काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार लेस्टर सिटी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको छ । लेस्टर घरेलु मैदान किंग पावर रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित हुन पुग्यो ।
जेम्स म्याडिसनले ५४औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ६८औं मिनेटमा चे एडम्सको गोलबाट पाहुना टोली खेलमा फर्किएको थियो । यस्तै, खेल सकिन ६ मिनेट बाँकी रहँदा एडम्सले नै गोल गरेपछि लेस्टर घरेलु मैदानमै निराश बन्यो ।
प्रिमियर लिगअन्तर्गत शनिबारै भएको खेलमा टोटेनहमका स्ट्राइकर ह्यारी केनले एकै क्लबबाट सर्वाधिक धेरै लिग गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
उल्भ्सविरुद्ध निर्णायक गोल गरेसँगै केनले सर्जियो अग्युइरोको नाममा रहेको कीर्तिमान उछिनेका हुन् ।
उल्भ्सविरुद्धको गोल प्रिमियर लिगमा केनको १ सय ८५ औं गोल हो । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर सर्जियो अग्युरोको नाममा १ सय ८४ गोल थियो । केनले करियरको २ सय ५० औं गोलसमेत पूरा गरेका छन् ।
यस्तै, अन्य खेलहरुमा क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई ३–१ ले र फुलहमले ब्रेन्टफोर्डलाई ३–२ ले पराजित गर्दा एभर्टन र नटिङ्घम फरेस्ट १–१ को बराबरीमा रोकिए ।
प्रतिक्रिया