Logo

मुख्य समाचार

श्रीकृष्ण जन्माष्टमीको व्रत समापन



काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ ।

अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ ।

वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो ।

शुक्रबार देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ४३ बजे