Logo

मुख्य समाचार

नागरिकता विधेयक सदनमै फिर्ता पठाउने राष्ट्रपति भण्डारीको तयारी



काठमाडौं । राष्ट्रपति कार्यालयमा पुगेर अड्किएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्ने तयारी गरेकी छिन् ।

विधेयक प्रमाणिकरण वा फिर्ता पठाउनेबारे राष्ट्रपति भण्डारीलाई प्राप्त समय घर्किन लागेको छ । नागरिकता विधेयक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको १३ दिन पुगेको छ ।

अब दुई दिनभित्र राष्ट्रपति भण्डारीले आफ्नो निर्णयसहित विधेयक फिर्ता वा प्रमाणीकरणको निर्णय लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकमाथि प्रश्न उठाउँदै पुनर्विचारका लागि संसदमै फिर्ता पठाउने तयारी गरेकी छिन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि देशभरिका विभिन्न व्यक्ति र समूहसँग छलफल गरिएको र सदनमै फिर्ता पठाउने तयारी भएको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ३६ बजे