Logo

धर्म / संस्कृति

रोल्पाको जलजलामा साउने पूर्णिमा अर्थात जनैपूणिर्मामा भव्य पुजा !



रोल्पा । जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ । जलजला समुद्री सतह देखि २ हजार २ सय मिटर देखि ३ हजार ८ सय मिटर उचाईमा रहेको छ ।

साउने पूर्णिमा अर्थात जनैपूणिर्माको अवसरमा जलजलामा भव्य पुजा सम्पन्न भएको छ । पुजामा जिल्ला भित्र मात्र नभई छिमेकी जिल्ला रुकुम, सल्यान, प्युठान, दाङ र बागलुङ लगाएत अन्य जिल्लाहरु बाट पनि पुजा गर्न र घुम्न आउने गरेको पान्छ । जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तव्यमा सुचीकृत भएको नयाँ गन्तव्य समेत मानिन्छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भिजिट ट्वान्टी–ट्वान्टी अभियान नै शुरु गरेको थियो । जसमा रोल्पाको जलजला पनि समावेश भएको थियो ।

अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरुलाई सहज होस् भनेर ठाउँ–ठाउँमा बाटो देखाउने साइनबोर्ड समेत राखिएको छ । तल जमिन दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानी नै पानीले भरिएको जस्तो महशुस गर्न सकिन्छ । अगाडि निलो आकाश मुनी हरिया साना थुम्का छन् । जलजलाको अर्को आकर्षणको रूपमा दुर्लभ सेतो गुराँस मान्नीने गर्दछ । जलजलामा घोरल, थार, मृग, बँदेल, भालु जस्ता जङ्गली जनावर समेत पाइने गर्दछ । साथै धुपी, बाँज, सेतो गुराँस, लाली गुराँस, भोजपत्र, लेकाली सल्ला लगाएत वनस्पति तथा थुप्रै जडिबुटी समेत पाइन्छ ।

यस्तै डाँफे, मुनाल, कालिज,बाघ, भालु लगाएत पंक्षी तथा जनावर पनि यहाँ भेटिने गरेको पाइन्छ ।युद्धकालदेखि नै जलजलामा वस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिदै आएको छ । आफ्नो पहिचान, बिर्ता र ऐतिहासिकता बोकेको जलजलाको द्दश्य शब्द र तस्वीरले वर्णन गर्न सकिदैन । महिनैपिच्छे जलजलाको फरक फरक द्दश्यावलोकन गर्न सकिन्छ । फागुन, चैत, बैशाखमा लाली गुराँसले ढक्कमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकिएको हुन्छ।
असार, साउन, भदौ र असोज महिनामा दुर्लभ रङ्गीबिरङ्गी फूलहरुले सिंगारिन्छ । जलजला सयौं बुकी फूलहरुले सजिएको छ । फूलमा रमाएका चराहरुको चिरबिर आवाजले कान नै गुञ्जायमान गराईदिन्छ ।

जलजलाको दलदल गर्ने घाँसे मैदानमा आन्नद लिएर बेग्लै अनुभव यहाँ गर्न सकिन्छ । जलजलाको ऐतिहासिक महत्त्वसँगै धार्मिक महत्त्व पनि उत्तिकै छ । यहाँ बैशाख महिनाको पूर्णिमा, जेठ महिनाको पूर्णिमा र साउन महिनाको पूर्णिमा अर्थात जनैपूणिर्मामा भव्य मेला तथा पुजा हुने गर्दछ । मेलामा मात्र नभई अरु बेलामा समेत जलजलामा बराहलाई भेडा–साँडाको बलिदिन दिनेहरु सयौंको संख्यामा पुग्ने गर्दछन । साथै बराह देवताको पुजा गरिन्छ । यहाँ पुगी पुजा गरेमा चिताएको पुग्ने धार्मिक विश्वास रहेको छ ।

त्यसैगरी आफूले आर्जन गरेको धनजनको सुरक्षाको लागि समेत त्यहाँ पुगी पुजा गर्ने चलन रहेको छ । जलजलामा कैलु बराह, सतदेव बराह, बज्यु बराह, रानीबज्यु र भामाओडार गरि जम्मा ५ ठाउँमा पुजा र बलिदिने गरिन्छ । भेडा–साँडा र कुखुराको बली दिइने जलजलामा झाँक्री मगर र रोकामगर थरका पुजारीबाट पुजा–आजा गरिन्छ । सोही अवसरमा साउन पूर्णिमा अर्थात जनैपूणिर्मामाका दिन जलजलामा शुक्रबार सयौंको संख्यामा भेडा–साँडा र कुखुराको बलि दिएको बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ६ : ४६ बजे