Logo

मुख्य समाचार

काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक


१७ श्रावण २०७९, मंगलबार  

7.9k
Shares

काठमाडौं । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाण्डौको नयाँबसपार्क, कलंकी, गौशला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन् ।

चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका-२९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर-६ स्थित २ र ३ नम्बर पुलको बीचमा पहिरो खसेको छ । जसका कारण गत रातदेखि नै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।

लम्जुङको वेशीशहर नगरपालिका १ उदिपुर र मर्स्याङ्दी गाउँपालिका ४ काभ्रेभिरमा मंगलबार बिहानै पहिरो खसेको छ । जसका कारण लम्जुङ हुँदै मनाङ जाने सवारी साधन रोकिएका छन् ।

पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० तिङ्ग्राङ खानीमा पनि आज बिहानै पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ । आज बिहान ३ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । धादिङकै धुनिवेशी नगरपालिका-९ स्थित निमार्णाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छ्याइएको छ ।

पहिरो पन्छ्याइएसँगै सवारी साधन एकलेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पुर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ११ : १२ बजे