Logo

मुख्य समाचार

संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित



काठमाडौं । संसदीय समितिको बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित भएका छन् ।

संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायीत्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरू, रक्षा मन्त्रालयका सचिवलाई बोलाएको थियो ।

सोमबार मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा सांसदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी जैरुले परराष्ट्रमन्त्री खड्का अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरुलाई जानकारी गराइन् ।

‘परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई दस्तावेजसहित उपस्थित हुन भनेका थियौं। तर, परराष्ट्रमन्त्रीले विशेष काम परेको भनी उपस्थित हुन नसक्ने जानकारी केहीबेर अघिमात्रै आयो । रक्षा सचिवले पनि परराष्ट्रमन्त्रीको उपस्थितिमा मात्रै उपस्थित हुने जानकारी दिनुभयो,’ सभापति जैरुले भनिन् ।

समिति सभापति जैरुका अनुसार एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे परराष्ट्रमन्त्री खड्काको समय लिएर अर्को बैठक राखिनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : ०६ बजे