Logo

मुख्य समाचार

‘उपाध्यक्ष र उपसभामुख पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने थियो’: वामदेव गौतम



काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।

गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष महिला नियुक्त हुनुपर्ने भएकाले सरकार, संसद र राजनीतिक दलहरूको ध्यान नगएको बताएका छन् । उनले यी दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा गौतमले दलहरूले ती पदमा पुरुषलाई पनि नियुक्त गर्न मिल्ने भए पद रिक्त भएको पाँच दिनमै पूर्ति हुने थियो पनि भनेका छन् ।

‘राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधिसभा सभामुख पुरुष भएको भएको हुनाले उपाध्यक्ष र उपसभामुख महिला नै हुने हो । यदि संविधानमा उपाध्यक्ष र उपसभामुख पुरुष अनिवार्य भनेको भए आज होइन खाली भएको पाँच दिनमा नै नियुक्ति हुने थियो । किन सरकार, राजनीतिक दल र संसदको ध्यान पुगेको छैन ? यो लाजमर्दो कुरा हो । महिला माननीयहरूले आन्दोलन नै गर्नुपर्ने हो लाग्छ ।’

सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे।

उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभएपनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताए।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : १९ बजे