Logo

मुख्य समाचार

कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि शेखर पक्षले प्रदर्शन गर्दै



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता–कार्यकर्ताहरुले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता–कार्यकर्ताहरुले प्रदर्शन गर्न लागेका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ ।

अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर कोइराला निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन् । रानामगरले भनिन्, ‘सबै भ्रातृ संस्था भताभुंग छन् । पार्टीलाई दबाव दिन प्रदर्शन गर्न लागेका हौं ।’

१० फागुनमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अवधि पूरा भएका १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको केन्द्रीय कार्य समिति फागुन ३ मा भंग गरिएको थियो ।

सभापति शेरबहादुर देउवाले चारवटा भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै मनोनित गरेका छन् ।

सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई मनोनित गरेका छन् । अरु ६ वटा भ्रातृ संस्थाको मूल नेतृत्व खाली छ ।

याे पनि…

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ३१ बजे