Logo

Breaking News 1

लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनुपर्ने अभिभारा छ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनुपर्ने अभिभारा आफू सामू रहेको बताएका छन् । ‘संसद दिवस २०७९’ को अवसरमा आज शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।

सन्देशमा लेखिएको छ, ‘दुई–दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट संसदले आफ्ना कार्यहरु निरन्तर अगाडि बढाइरहेको छ । हामी सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नु पर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा छ ।’

संसद दिवसले लोकतान्त्रिक परिपाटीको रक्षा र सुदृढीकरणका लागि संघीय संसदका सदस्यहरु, संविधान सभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत सभामुखले लिएका छन् ।

संसद दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसदले भोग्नु परेका विविध आरोह–अवरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसदसँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्षा गर्ने बेला आएको समेत सभामुखले बताएका छन् ।

नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा यस दिनलाई संसद दिवसका रुपमा मनाउने प्रचलन रहि आएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ७ : ३२ बजे