Logo

Breaking News 1

‘प्रचण्डको अभिव्यक्तिलाई थर्काएको भन्न मिल्दैन, कांग्रेस अहंकारको बाटोमा छैन’: प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’को अभिव्यक्तिलाई नकारात्मक रुपमा बुझ्न नहुने बताएका छन् ।

शुक्रबार चितवन पुगेका महतले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डको अभिव्यक्तिलाई थर्काएको भनेर बुझ्न नहुने बताएका हुन् ।

केही दिनअघि एक कार्यक्रममा प्रचण्डले कांग्रेसले आफू ठूलो दल भएँ भनेर दम्भ, अहंकार लिएर अगाडि बढेमा एमालेलाई जस्तै ठेगान लगाउने बताएका थिए ।

‘प्रचण्डले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, महतले भने , ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’

प्रवक्ता महतले नेपाली कांग्रेस अहंकारको बाटोमा कहिलै नजाने पनि स्पष्ट पारे । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको भन्दै उनले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको उनले बताए ।

जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएको भन्दै उनले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : ३१ बजे