Logo

Breaking News 1

राजनीतिमा हाम्रा होइन, राम्रा रोज्ने कहिले ?



काठमाडौं । नेपालको राजनीतिमा धेरैलाई दिक्क बनाउने चलन हो, नातावाद । श्रीमती, छोराछोरीलाई मात्र होइन, इष्टमित्र भएपनि आयोग्यलाई मौका दिने प्रवृति सिंगो राजनीति खराब हुँदै गएको छ ।

अहिले नेताले आफ्ना परिवार र नातेदारका पक्षमा लिएका निर्णयले लोकतन्त्रभित्रको एउटा आदर्श अवस्थालाई गिज्याएको छ । आफूले सक्दा परिवार र नातालाई मद्दत नगर्ने हो भने अरू कसले सहयोग गर्छ भन्ने सोच देखिन थालेको छ। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएयता क्रमशः नातावाद मौलाउँदै आएको छ ।

आफ्नो क्षमताका आधारमा भन्दा परिवार सदस्यले सहयोग गरेका भरमा नेतृत्वमा पुग्ने प्रवृत्ति विकास हुँदै आएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरी सुजाता कोइरालालाई नेतृत्वमा स्थापित गर्न कोसिस गरे । उनको त्यो कोसिसले कैयन मेहनती राजनीतिक व्यक्तिहरूको अवसर गुम्यो । छोरीलाई आफैँ राजनीतिमा तलदेखि उठ्दै आउन प्रोत्साहित गरेका भए शायद सुजाता क्रमशः नेतृत्वमा स्थापित हुने थिइन् ।

अहिले त्यसैको सिलसिलाजस्तै गरी नेताकै परिवार सदस्यहरू निर्वाचनमा उम्मेदवार भएको पनि देखियो । तर मतदाताले त्यसलाई स्वीकार गरेको देखिएन। परिवर्तनपछि आएका नेतामा पनि परिवारवाद र नातावाद हावी देखेर आमनागरिक दिक्क छन् । आफ्नो परिवारको सदस्य सरकार वा पार्टीको माथिल्लो स्थानमा नभएका व्यक्तिले मौका नपाउने हो भने कैयन् प्रतिभाशाली व्यक्तिहरू राजनीतिबाटै पलायन हुने खतरा हुन्छ ।

राजदूतको नियुक्ति होस् वा निर्वाचन, जहाँ पनि परिवारकै सदस्य वा नातेदार चाहिने भएपछि अहिलेको राजनीतिक प्रणालीमा विकृतिबाहेक अरू केही उपलब्धि हुने देखिँदैन । अहिले निर्वाचनमा देखिएका धेरै बागी उम्मेदवारको कारण पनि यही हो । नेताले राजनीति गर्दा हिजोका दिनमा पूरै परिवारले समस्या भोगेको छ। पञ्चायतका बेला इतर राजनीतिमा लाग्ने परिवारले दुःख पाएका थिए । यसको अर्थ लोकतन्त्र आएपछि हिजोको दुःखको हिसाब सबै परिवार सदस्य र नातेदारलाई पुरस्कृत गरेर असुल गर्नुपर्छ भन्ने होइन ।

देश परिवर्तन गर्न हिँडेका व्यक्तिहरूले भोगेको हिजोको दुःखको पुरस्कार भनेकै आजको दिनमा हासिल भएको समृद्धि हो । बिडम्वना, हामीकहाँ त्यस्तो उच्च भावना भएन । मेरा परिवारका सदस्यले हिजोको पुरस्कार पाउनुपर्छ भन्ने भावनाले बढ्ता काम गरेको छ ।

परिवारकै स्वार्थमा अल्झेका भए दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला पत्नी बिन्नी मन्डेलाको जुनसुकै गल्तीमा पनि आँखा चिम्लन बाध्य हुन्थे। उनले मुलुकलाई पहिलो सर्त बनाएका कारण बिन्नीसँग पारपाचुके गर्नसमेत पछि परेनन् । हामीकहाँ कहिले पति कहिले पत्नीको नाम अनियमितता र विभिन्न काण्डमा जोडिन्छ । तर त्यसमा एकअर्कालाई तिनले भरथेग गर्छन्। कहिल्यै यसो नगर्नू भन्न सक्दैनन् ।

नेकपा (माओवादी अध्यक्ष) पुष्पकमल दाहाल पुत्री रेणु दाहालले फेरि पनि चितवनमा मेयरको उम्मेदवार बन्ने मौका पाएकी छन् । उनलाई दुई कार्यकाल मेयर बनाउँदा नेपाली कांग्रेसको स्थानीय आधार समाप्त हुने स्थिति आइसकेको छ । अध्यक्ष दाहालका निम्ति कांग्रेसले आफ्नो स्थानीय राजनीतिलाई समेत तिलाञ्जली दिएको छ ।

निश्चय नै दाहाल परिवारले हिजोका दिनमा संघर्ष गरेको छ । यसको अर्थ त्यही परिवारले मात्र मौका पाउनुपर्छ भन्ने छैन । माओवादीमा लागेर आफ्नो जीवन, परिवार र सम्पत्ति समाप्त गर्ने कैयन् अन्य व्यक्ति छन् । त्यति मात्र होइन, त्यो १० वर्षे सशस्त्र द्वन्द्व अवधिमा दुःख पाउने सर्वसाधारण बेहिसाब छन् । देशले नै दुःख पाएको छ। आज मौका पाउँदा देशलाई उठाउने गरी काम गर्नुपर्छ । परिवार मात्र हेरेर के गर्नु ?

नेताका परिवार सदस्य हुनेबित्तिकै निर्वाचनमा उम्मेदवार बन्न योग्य ठान्ने स्थिति आउनु उचित होइन। काठमाडौँ महानगरपालिकाकै हकमा पनि कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जनाले मौका पाएकी छन् । लौहपुरुष गणेशमान सिंहको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान छ । तर यसको अर्थ उनको परिवारका सदस्यले मात्र मौका पाउँदा आमकार्यकर्ताको तहमा अविश्वास बढ्छ ।

नेताको परिवार सदस्य नभई मौका पाइँदैन भन्ने विश्वास बढ्न थाल्यो भने त्यसले कालान्तरमा नकारात्मक प्रभाव पर्छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव, मधेस प्रदेश मुख्य मन्त्री लालबहादुर राउत पत्नी जलेखा खातुन लगायतको उम्मेदवारीलाई लिएर आलोचनाका स्वर सुनिएका छन् । आखिर नेताले परिवारलाई नै किन प्राथमिकतामा राखे ? प्रश्न गम्भीर छ ।
आफ्नालाई होइन, सबैकोलाई प्राथमिकता दिने संस्कार कहिले बस्ने होला ? हाम्रालाई होइन, राम्रालाई छनौट गर्ने प्रणाली कहिले शुरु होला ?
अहिले नेपालको राजनीतिमा यो नातावादको जालो सबैभन्दा तगारो बनेर उभिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ४१ बजे