Logo

मुख्य समाचार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ



काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो ।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ११ बजे