Logo

मुख्य समाचार

गठबन्धनको ढंग पुगेन भने सम्बन्धित मित्रहरुले दुःख पाउनुहुन्छ : नेम्वाङ



काठमाण्डाैं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने धारणा राखेका छन् ।
क्लबको २४औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिने क्रममा नेता नेम्वाङले भने,‘हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ । यो निर्वाचन प्रणालीमा अपवादमा बहुमत आउँछ । आखिरमा गठबन्धन त गर्नैपर्छ। तर, त्यो मूल्य र मान्यताको आधामा हुनुपर्छ । गठबन्धनको ढंग पुगेन भने सम्बन्धित मित्रहरुले दुःख पाउनुहुन्छ।’

उनले क्लबले आगामी निर्वाचनको हकमा पनि सक्रिय भूमिका खेलोस भन्ने सुझाव दिए । उनले अहिलेको संविधान सम्झौतको दस्तावेज भएको उल्लेख गरे । उनले भने,‘यो संविधान सम्झौताको दस्तावेज हो । समझदारीको दस्तावेज हो। यसलाई कार्यान्वयन गर्दै अघि बढ्नुको कुनै विकल्प छैन् । जनतालाई सार्वभौमसम्पन्न बनायौं । जनताको मन जितौं, जनताको आर्शिवाद लिन सकौं। अब परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन् । जनताको मन जितेर संसद्मा पुगेर संविधान संशोधन गर्न सकिन्छ। जनतालाई अनुभुत गर्नेगरि काम हुनुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिबाट हुने भारत भ्रमणको सफलताको शुभकामना पनि दिए । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ, उहाँको उपस्थितिमा उहाँलाई शुभयात्रा भनौं । शुभकामना भनौं भनेर पनि म आएको हुँ । उहाँको भारत भ्रमणको सफलताको कामना गर्दछु ।’

उनले रिपोर्टर्स क्लबले देशको ईतिहासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए । उनले भने,‘आउने दिनमा अझै सशक्त भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास छ। संविधान निर्माण गर्ने क्रममा क्लबले खेलेको भूमिकाको मलाई अहिलेपनि सम्झना छ, हामीले दुःख गरेर संविधान बनायौं । देशका सबै दल एक ठाउँमा उभिँदा संविधान बन्यो । दलहरुको बारेमा आलोचना र टिप्पणी हुन्छन्, कमिकमजोरीको बावजुद पनि देशलाई यो ठाउँमा ल्याउने काम दलहरुले गरेका छन् । अप्ठ्यारो पर्दा अहिलेपनि यीनै दलहरु एक ठाउँमा बस्नुपर्छ । नयाँ वर्षको सुरुवात हुन लागेको छ, एक ठाउँमा उभिएर मिलेर अगाडि बढ्नुपर्छ ।’

उनले आगामी बैशाख ३० गते निर्वाचन स्थानीय तहको निर्वाचन रहेको र दलहरु जनतासामू पुग्ने दिन आएको सुनाए । उनले भने,‘निर्वाचनको क्रममा जनताको बीचमा पुग्नुछ। जताको बीचमा हिसाबकिताब बुझाउनुपर्नेछ । त्यो दिन आउँदैछ। निरन्तर संघर्ष गरेर संविधान बनाएका छौं । त्यो कार्यान्वयनको लागि निरन्तर अघि बढ्ने प्रयास गर्नुपर्छ ।’

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ४ : ३४ बजे