लमजुङ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज लमजुङ पुगेका छन् ।
पार्टीका सल्लाहकार एवं सहकर्मी पूर्णबहादुर गुरुङको निधनपछि आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड क्व्होलासोथार गाउँपालिका–सानो काभ्रे पुगेका हुन् ।
चितवन र गोरखा हुँदै लमजुङ प्रवेश गरेका उनलाई राइनास नगरपालिका–१ मा स्थानीय बासिन्दा तथा पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । यसअघि उनलाई चितवनको भरतपुर, तनहुँको आँबुखैरेनी तथा गोरखाको बाह्रकिलो र हर्मीमा पनि स्वागत गरिएको थियो ।
स्वागतका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले मुलुकका विद्यमान समस्या समाधान गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ बनाउने अभियानमा आफूहरू जुटिरहेको उल्लेख गर्दै उनले कम्युनिस्ट शक्तिबाहेक अन्य शक्तिले देश र जनताका समस्या प्रभावकारी रूपमा समाधान गर्न नसक्ने धारणा राखे ।
विश्वभर कम्युनिस्ट आन्दोलनप्रति नयाँ आकर्षण र लहर सिर्जना भइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि जनताको साथ र समर्थनमा कम्युनिस्ट आन्दोलन सशक्त बन्ने विश्वास व्यक्त गरे ।
उनले कम्युनिस्ट आन्दोलनको एकता, जनताको विश्वास र परिवर्तनको आकाङ्क्षालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।








प्रतिक्रिया