Logo

विश्व

इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ



काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनले छोराहरूले जेलभित्रै आफ्नो बुबामाथि शारीरिक तथा मानसिक यातना भइरहेको आरोप लगाउँदै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको बताएका हुन् ।

बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा छोराहरू सुलेमान इसा खान र कासिम खानले अदियाला जेलमा रहेका ७४ वर्षीय इमरानको स्वास्थ्य तीव्र रूपमा बिग्रिरहेको भन्दै तत्काल निजी अस्पतालमा स्थानान्तरण गर्न माग गरेका हुन् ।

उनीहरूका अनुसार इमरानको रक्तचाप अत्यधिक बढेको छ । उचित उपचार र चिकित्सकीय निगरानीको व्यवस्था नगरिए जेलभित्रै उनको ज्यान जान सक्ने उनीहरूले चेतावनी दिएका छन् । ‘अहिलेको अवस्था हेर्दा उनी अन्ततः यही कोठरीमा मर्नेछन् । उचित उपचारबिना उनलाई त्यहाँ राखिरहे जेलभित्रै उनको हत्या हुनेछ,’ दुवै छोराले अन्तर्वार्तामा भनेका छन् ।

उनीहरूले इमरानलाई दैनिक २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र जेलका सुरक्षाकर्मीलाई समेत उनीसँग कुराकानी नगर्न निर्देशन दिइएको आरोप लगाएका छन् । यसले उनको शारीरिक अवस्थासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको उनीहरूको भनाइ छ ।

इमरानका छोराहरूले गत अगस्ट १८ मा पाकिस्तानको सर्वोच्च अदालतले दिएको आदेशसमेत कार्यान्वयन नभएको बताएका छन् । उक्त आदेशमा इमरानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि निजी अस्पताल शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न र परिवारसँग नियमित कुराकानी तथा भेटघाटको व्यवस्था मिलाउन भनिएको थियो ।

‘अगस्टमा सर्वोच्च अदालतले निजी अस्पतालमा उपचार गराउन र हामीसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न आदेश दिएको थियो । तर अहिलेसम्म केही परिवर्तन भएको छैन । उनको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको छ,’ उनीहरूले भने ।

इमरान खानले पनि नोभेम्बर १६ मा अदियाला जेलबाट आफ्ना वकिलमार्फत सार्वजनिक गरेको खुला पत्रमा स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गरेका छन् । नोभेम्बर ११ मा तीन घण्टाको कानुनी परामर्शपछि वकिल ब्यारिस्टर सलमान सफदरमार्फत सार्वजनिक गरिएको पत्रमा उनले आफ्नो रक्तचाप १९२ देखि १९३ सम्म पुगेको बताएका छन् ।

उनका अनुसार चिकित्सकहरूले मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको बताएका छन् । उनको मुटुमा समेत क्षति पुगिसकेको पत्रमा उल्लेख छ । त्यस्तै, दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको र लामो समयदेखि एकान्त कारावासमा राखिएको उनले बताएका छन् ।

गत अगस्ट १८ को सर्वोच्च अदालतको आदेशअनुसार दुई दिनभित्र उनलाई शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गरी मुटुरोग विशेषज्ञ र आँखा विशेषज्ञसहितको चिकित्सकीय टोलीबाट परीक्षण गराउनुपर्ने थियो । तर सरकारी अधिकारीहरूले उनलाई केही समय सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा लगेर पुनः अदियाला जेल फर्काएको डनले जनाएको छ । पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले सुरक्षाको कारण देखाउँदै निजी अस्पताल स्थानान्तरण नगरिएको बताएका छन् । पीटीआईले भने उक्त तर्क अस्वीकार गरेको छ ।

इमरानले आफ्नी पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन् । सन् २०२५ जनवरी १७ देखि जेलमा रहेकी बुशरा बीबीको सन् २०२६ अप्रिलमा आँखाको जटिल शल्यक्रिया गरिएको र त्यसपछि पनि दृष्टिसम्बन्धी समस्या कायम रहेको उनले पत्रमा उल्लेख गरेका छन् ।

इमरानका छोराहरूले आफ्ना बुबासँग अन्तिमपटक गत मार्च २२ मा फोनमा कुराकानी गरेको बताएका छन् । उनीहरू सन् २०२२ नोभेम्बरयता बुबालाई प्रत्यक्ष भेट्न पाएका छैनन् । सन् २०२२ मा भएको हत्या प्रयासमा घाइते भएपछि उपचारका क्रममा भेटेका उनीहरूले त्यसयता प्रत्यक्ष भेटघाट गर्न नपाएको बताएका छन् ।

इमरान खान सन् २०२३ अगस्ट ५ मा पक्राउ परेयता निरन्तर जेलमा छन् । उनका छोराहरूले नियमित फोन सम्पर्क र स्वतन्त्र चिकित्सकबाट उपचारको व्यवस्था गर्न माग गर्दै यसमा ढिलाइ भए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन् । एएनआई

प्रकाशित मिति : २ मंसिर २०८३, मंगलबार  ११ : ४५ बजे