Logo

विश्व

रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण


२९ कार्तिक २०८३, शनिबार  

0
Shares

काठमाडौं । रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र भएको छ । दुवै देशले शुक्रबार सार्वजनिक गरेका विवरणअनुसार रुसले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारमा ड्रोन आक्रमण गरेको छ भने युक्रेनले रुसका ड्रोन केन्द्रमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले पछिल्लो एक सातामा युक्रेनका सैन्य उद्योग, लजिस्टिक केन्द्र तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी दुईवटा ठूलो स्तरका आक्रमण र १२ वटा क्लस्टर आक्रमण गरेको छ ।

मन्त्रालयले हतियार ढुवानी गरिरहेका युक्रेनका १५ वटा सुख्खा मालवाहक पानीजहाजमा समेत आक्रमण गरेको दाबी गरेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा खार्किभ र सुमी क्षेत्रमा रहेका दुईवटा बस्ती आफ्नो नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

यता, युक्रेनको सशस्त्र सेनाको जनरल स्टाफले शुक्रबार बिहान रुसी भूभाग रोस्तोभ–अन–डनमा रहेका तीनवटा ड्रोन केन्द्रमा आक्रमण गरेको जनाएको छ । युक्रेनी नौसेनाले आर–३६० नेप्च्युन क्षेप्यास्त्र प्रणाली प्रयोग गरी ती केन्द्रलाई लक्षित गरेको उसको भनाइ छ ।

युक्रेनी सेनाका अनुसार पछिल्लो २४ घण्टामा अग्रपंक्तिमा १७५ वटा भिडन्त भएका छन् । युक्रेनी वायुसेना, क्षेप्यास्त्र बल र तोपखानाले रुसी सैनिक भेला हुने क्षेत्र तथा ड्रोन नियन्त्रण केन्द्रलाई लक्षित गरी आक्रमण गरेका छन् । दुवै पक्षले सार्वजनिक गरेका विवरणमा आक्रमण र सैन्य सफलतासम्बन्धी दाबी समेटिएका छन् । ती दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । सीसीटीभी

प्रकाशित मिति : २९ कार्तिक २०८३, शनिबार  ३ : ५८ बजे