सर्लाही । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आज सर्लाही सदरमुकाम मलंगवामा यौनजन्य हिंसा रोकथाम तथा सचेतनामूलक प्रभातफेरी ¥याली निकालिएको छ ।
अपराध अनुसन्धान विभागको स्थापना दिवस २०८३ को अवसरमा आयोजित उक्त ¥यालीले मलंगवा बजारका विभिन्न भागको परिक्रमा गर्दै मलंगवा नगरपालिकाको कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो।
सभालाई सम्बोधन गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीले महिला हिंसा तथा यौनजन्य हिंसा अन्त्यका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले समाजमा व्याप्त बालविवाह अन्त्य गर्न तथा महिला हिंसाविरुद्ध सचेतना फैलाउन सबैलाई आग्रह गरे ।
उनले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न सामाजिक जागरुकता, सचेतना र सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए
कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलले लैङ्गिक तथा महिला हिंसा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले तीनदिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
उनका अनुसार कार्यक्रमको पहिलो दिन प्रभातफेरी ¥याली तथा उद्घाटन कार्यक्रम गरिएको छ भने दोस्रो दिन जिल्लाभरिका विभिन्न विद्यालयमा महिला प्रहरी अधिकारीमार्फत यौनजन्य हिंसा रोकथाम तथा महिला हिंसाविरुद्ध सचेतनामूलक प्रशिक्षण सञ्चालन गरिनेछ। त्यस्तै, तेस्रो दिन महिला हिंसाबाट प्रभावित क्षेत्र तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
एसपी पौडेलले मधेस प्रदेशमा महिला हिंसाका घटनाहरू घट्नुको सट्टा बढ्दै गएको देखिएको बताउँदै प्रहरीको सम्पर्कमा आउने घटनाभन्दा बाहिर रहेका घटना अझै धेरै हुन सक्ने उल्लेख गरे । उनले महिला हिंसाविरुद्धका कार्यक्रमहरूमा महिलाको सहभागिता न्यून रहने गरेकोमा चिन्ता व्यक्त गर्दै आजको कार्यक्रममा विद्यालयका विद्यार्थी तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहनु सकारात्मक भएको बताए ।
बालविवाह पनि महिला तथा घरेलु हिंसाको प्रमुख कारणका रूपमा देखिएको उल्लेख गर्दै उनले बालविवाहले महिलाको जीवनमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे ।
प्रहरीले हिंसापीडित महिलालाई सहज रूपमा न्यायको पहुँचमा पु¥याउन महिला तथा बालबालिका सेवा केन्द्रलाई पीडितमैत्री बनाएको र सम्भव भएसम्म महिला प्रहरी कर्मचारीमार्फत पीडितको गुनासो तथा उजुरी सुन्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
त्यसैगरी, पीडितको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीको मोबाइल एपमार्फत अनलाइन उजुरी तथा हाजिरी सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा उजुरी लेख्न नसक्ने सेवाग्राहीका लागि प्रहरी कर्मचारीबाटै निःशुल्क निवेदन लेखिदिने व्यवस्था पनि सुरु गरिएको उनको भनाइ थियो ।
उनले महिला तथा बालबालिकामाथि हुने हिंसा र अन्य आपराधिक गतिविधिविरुद्ध खुलेर आवाज उठाउन तथा उपलब्ध प्रहरी सेवाको उपयोग गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममार्फत प्रविधिको दुरुपयोगबाट हुन सक्ने यौनजन्य तथा लैङ्गिक हिंसाबारे सचेतना फैलाउँदै हिंसामुक्त र सुरक्षित समाज निर्माण गर्न सबैलाई आह्वान गरिएको थियो ।








प्रतिक्रिया