काठमाडौं । ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ ।
बैंकले समीक्षा अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो । बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभेच्छुकको सहयोगमा दुई दशकको यात्रा पूरा गरेको बताए । उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशन पालना गर्दै बैंकलाई सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाए ।
बैंकले ग्राहकलाई सहज र अत्याधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा थप लगानी गर्ने जनाएको छ ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।








प्रतिक्रिया