Logo

अर्थ

ताप्लेजुङको हातेकागज जापानदेखि जर्मनीसम्म, कच्चापदार्थ अभावले उत्पादन विस्तारमा चुनौती



ताप्लेजुङ । ताप्लेजुङमा परम्परागत प्रविधिबाट उत्पादन हुँदै आएको नेपाली हातेकागज स्वदेशसँगै जापान, चीन र जर्मनीसम्म निर्यात हुँदै आएको छ । स्थानीय स्रोतसाधन र सीपमा आधारित यस उद्योगको उत्पादनले बजार पाए पनि कच्चापदार्थको अभावका कारण उत्पादन विस्तारमा भने चुनौती देखिएको छ ।

फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हातेकागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय उद्योगमै कागज उत्पादनमा व्यस्त भेटिन्छन् । पुर्ख्यौली पेसाका रूपमा उनले हातेकागज उत्पादनलाई निरन्तरता दिँदै आएका छन् । उनका बुबाआमाले कागज बनाउने काम गर्थे । उनी पनि बाल्यकालदेखि नै उनीहरूलाई सघाउँदै यो सीपमा अभ्यस्त भएका हुन् ।

भोजपुरमा पुर्ख्यौली घर भएका शेर्पाले २०४९ सालमा तेह्रथुमको वसन्तपुरबाट हातेकागज उद्योग सञ्चालन सुरु गरेका थिए । त्यसपछि ताप्लेजुङको याम्फुदिन र खेवाङ क्षेत्रमा उद्योग सञ्चालन गरे । २०६१ सालमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङनजिकै छिरिङ हातेकागज उद्योग दर्ता गरी सञ्चालन गर्दै आएका छन् ।

उनको उद्योगमा अहिले १० जनाले रोजगारी पाएका छन् । उद्योग सञ्चालन खर्च कटाएर वार्षिक करिब १२ लाख रुपैयाँ आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगबाट भएको आम्दानीले छोराछोरीको पढाइ खर्च जुटाउनुका साथै बचतबाट सदरमुकाममा जग्गासमेत खरिद गरेका छन् । अहिले उनी घर निर्माणको तयारीमा छन् ।

उद्योगमा उत्पादित कागजको करिब ९० प्रतिशत बजार काठमाडौं हुँदै विदेशका विभिन्न मुलुकसम्म फैलिएको छ । जापान, चीन र जर्मनीलगायत देशमा कागज निर्यात हुने गरेको शेर्पाले बताए । जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयलाई पनि उनले वार्षिक करिब ४ लाख रुपैयाँ बराबरको कागज बिक्री गर्दै आएका छन् ।

‘कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन,’ शेर्पाले भने, ‘बरु कागज उत्पादन गर्न आवश्यक कच्चापदार्थको अभाव हुने गरेको छ ।’ उद्योगमा १०, २०, ३० र ४० ग्राम तौलका कागज उत्पादन हुन्छन् । ठूला उद्योगले २० ग्रामको कागज प्रतिपन्ना २० रुपैयाँ र ४० ग्रामको प्रतिपन्ना ४० रुपैयाँमा खरिद गर्ने गरेको शेर्पाले जानकारी दिए ।

मौसमअनुसार उद्योगको उत्पादन क्षमतामा पनि फरक पर्छ । गर्मी मौसममा दैनिक एक हजार ६ सय थानसम्म कागज उत्पादन हुने गरेकामा जाडोमा भने उत्पादन घटेर आठ सय थानसम्म पुग्ने गरेको छ । गर्मीमा जालीमा राखिएको लेदो तीन घण्टाभित्र सुक्ने भए पनि जाडोमा पाँच घण्टासम्म लाग्ने भएकाले उत्पादन प्रभावित हुने गरेको शेर्पाले बताए ।

हातेकागज उद्योगले स्थानीय महिलालाई रोजगारीको अवसरसमेत दिएको छ । तेह्रथुमकी माया मगर नेपाली हातेकागज उद्योगमा काम गर्न थालेको २८ वर्ष भइसकेको छ । विभिन्न उद्योगमा काम गरेकी उनी ताप्लेजुङमा हातेकागज उद्योग स्थापना भएपछि यही क्षेत्रमा निरन्तर कार्यरत छिन् ।

मगरका अनुसार विगतको तुलनामा अहिले हातेकागज उत्पादनको काम केही सहज भएको छ । पहिले अधिकांश काम हातैले गर्नुपर्ने भए पनि अहिले केही प्रक्रियामा मेसिन प्रयोग हुन थालेको उनले बताइन् ।

त्यस्तै, फक्ताङलुङ गाउँपालिका–६ की लक्ष्मी लिम्बू पनि नौ वर्षदेखि छिरिङ हातेकागज उद्योगमा कार्यरत छिन् । गाउँबाट रोजगारीको खोजीमा सदरमुकाम आएकी उनले उद्योगमा काम गरेर आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढाउँदै आएकी छन् ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार जिल्लामा १९ वटा नेपाली हातेकागज उद्योग दर्ता छन् । तर तीमध्ये केही उद्योग मात्र सञ्चालनमा छन् । बजारको माग हुँदाहुँदै पनि कच्चापदार्थको उपलब्धता, उत्पादन प्रक्रिया र उद्योग सञ्चालनको निरन्तरताजस्ता विषयले जिल्लाको हातेकागज उद्योगको व्यावसायिक विस्तारलाई प्रभावित गरिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, सोमबार  ३ : ४४ बजे