Logo

Breaking News 1

त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्यान बचेपछि सुरु भएको अर्को संघर्ष



नुवाकोट । दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु र बाख्रा थिए । खेतमा धान थियो । वृद्ध आमाबुबा घरमै थिए । सुत्केरी महिला आराम गरिरहेकी थिइन् । बालबालिका विद्यालय गईरहेका थिए । 

तर दस मिनेटपछि त्यो दृश्य रहेन । त्रिशूली अर्थात् ठूलो खोलातर्फबाट अचानक आएको भीषण बाढीले नुवाकोटको बेलकोटगढी नगरपालिका–७, लामुसोतीको भूगोल नै बदलिदियो । बस्तीका २८ घर माटो, हिलो र बालुवाको लेदोमुनि पुरिए । कतिपय घरको माथिल्लो तलासम्म हिलो भरियो । खेतबारी देखिन छाडे । गोठमा बाँधिएका चौपाया पुरिए । घरभित्र रहेका अन्न, भाँडाकुँडा, लत्ताकपडा, कागजात र वर्षौंको कमाइ केही मिनेटमै माटोमुनि पुगे । 

२८ वर्षिय राजेन्द्र नेपाल बाढी आएको दिन खेतमा थिए । धान खेती भइरहेको थियो । दिन सामान्य रुपमा बितिरहेको थियो । अचानक खोलामा पानी बढेको खबर आयो । ‘हामीलाई खोला आउँदैछ भनेर खबर आएको १० मिनेट मात्रै भएको थियो । म त्यतिबेला खेतमै थिएँ,’ उनले सम्झिए ।

खबर पाउनासाथ गाउँमा भागदौड भयो । राजेन्द्र पनि घरतर्फ दौडिए । खोलाको पानीको वेग बढ्दै थियो । उनी रसुवा जाने मेन रोडतर्फ पुग्दा बाढी उनकै पछिपछि आइपुगेको थियो । ‘बाढीभन्दा दुई हात मात्रै अगाडि दौडेर माथिल्लो डाँडातिर पुगे,’ उनले भने । 

त्यो दौड केवल सुरक्षित ठाउँमा पुग्ने दौड थिएन । त्यो जीवन र मृत्युबीचको दौड थियो । केही मिनेट ढिला भएको भए के हुन्थ्यो भन्ने प्रश्नको उत्तर उनी आफैँसँग छैन ।

ज्यान त जोगियो । तर उनको घर जोगिएन । घरका दुई तलासम्म हिलो र माटो भरिएको छ । भान्छाका सामान, ग्याँस चुल्हो, लत्ताकपडा र घरका अन्य सामग्री सबै पुरिएका छन् । 

आज राजेन्द्रको घर छैन । घर भएको ठाउँमा हिलो छ । रात परेपछि उनी परिवारसहित छिमेकीको घरको पिढीमा सुत्छन् । ‘अहिले हामी अरुकै घरको पिढीमा सुतिरहेका छौँ,’ उनले भने, ‘राहतमा चामल आएको छ । तर चामल पकाउने साधन छैन । पानी परिरहेको मौसम छ । दाउरा भिजेर बल्दैन । ग्याँस चुल्हो सब पुरियो । धेरै गाह्रो भइरहेछ ।’

राहतको एउटा बोरा चामलले केही दिन टार्न सक्छ । तर घरको आवश्यकता टार्दैन । ग्याँस चुल्होले खाना पकाउन सक्छ । तर सुरक्षित छानो दिन सक्दैन । राजेन्द्रलाई अहिले यही फरकले सताइरहेको छ ।

बाढीको पानी अहिले घटिसकेको छ । तर लामुसोतीमा विपत्ति अझै सकिएको छैन । यहाँका मानिसहरुका लागि बाढी अब नदीमा होइन, उनीहरुको दैनिक जीवनमा बगिरहेको छ । उनीहरूका अगाडि एउटै प्रश्न छ, ‘ज्यान त जोगियो, अब जीवन कसरी जोगाउने ?’

बाढीपछि लामुसोती पुग्दा घरहरु खोज्न कठिन हुन्छ । जहाँ कुनै समय घरका भित्ताहरु थिए, त्यहाँ अहिले हिलोको थुप्रो छ । जहाँ आँगन थियो, त्यहाँ बालुवाको लेदो छ । जहाँ चुलो थियो, त्यहाँ माटो छ । घरका सामान खोज्न मानिसहरु हातैले बालुवा र हिलो पन्छाइरहेका छन् ।

७० वर्षीय लालप्रसाद नेपाल त्यही भीडमा आफ्नो घरको चिनो खोजिरहेका थिए । उनले वर्षौं बिताएको घर अब घरजस्तो देखिँदैन । न ढोका छ, न झ्याल । न आँगन छ, न भान्छा । हिलो खोतल्दै गर्दा उनको हातमा एउटा खिया लागेको फलामको रड आयो । उनले त्यो रडलाई केहीबेर नियाले । त्यसपछि अगाडि रहेको हिलोको थुप्रोतर्फ देखाउँदै भने, ‘मेरो घर यही हो ।’

उनका लागि त्यो रड केवल फलामको टुक्रा थिएन । त्यो उनको घरको अन्तिम चिनो थियो । लामुसोतीमा अहिले यस्ता चिनो खोज्ने २८ परिवार छन् । कसैले घरको ढोका खोजिरहेका छन् । कसैले भाँडाकुँडा । कसैले नागरिकता । कसैले लालपुर्जा । कसैले गहना । कसैले अन्न । 

तर सबैभन्दा बढी मानिसहरुले खोजिरहेका छन, आफ्नो पुरानो जीवन । ६८ वर्षीय लोकनाथ नेपालको कथा लामुसोतीको अर्को पीडादायी अध्याय हो । २०७२ सालको भूकम्पले उनको पुरानो घर ढालेपछि उनले फेरि घर बनाउने सपना देखे । सरकारले दिएको तीन लाख रुपैयाँ अनुदान पाए । बाँकी पैसा उनले आफ्नै कमाइबाट जुटाए । 

१४ वटा पिलर हालेर पक्की ढलान घर बनाए । घर निर्माणमा करिब २७ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । भूकम्पपछि फेरि उठेको त्यो घर उनको लागि केवल संरचना थिएन । त्यो विपत्तिपछि फर्किएको जीवनको प्रतीक थियो । तर अहिले त्यो घर छैन । बाढीले घरलाई यति गहिरोसँग पुरेको छ कि त्यसको निसानसमेत पहिचान गर्न कठिन छ ।

लोकनाथको स्वरमा पीडा छ ।

‘मलाई के थाहा, दुःखजिलो गरेर बनाएको घर एकै मिनेटमा सखाप हुन्छ भनेर?’ केहीबेर रोकिएर उनले थपे, ‘भूकम्पले पर्खाल ढालेको थियो, यो बाढीले त घरको निसान नै मेटाइदियो ।’

उनको साढे चार रोपनी जग्गासमेत बाढीको चपेटामा परेको छ । घर, खेतबारी, तीन वटा खसी, दुई वटा बाख्रा, १८–१९ क्विन्टल धान, खाट, दराज, भाँडाकुँडा, गहना—उनले आफ्नो जीवनमा जोडेको अधिकांश सम्पत्ति माटोमुनि पुगेको छ । उनका अनुसार कुल क्षति करिब पाँच करोड रुपैयाँ बराबरको छ ।

बाढीले लोकनाथको घर मात्र पुरेन । उनको नागरिकता, लालपुर्जा र अन्य महत्वपूर्ण कागजातसमेत पुरिएका छन् । ‘हामीसँग अहिले केही पनि बाँकी छैन,’ उनले भने, ‘नाङ्गो भएका छौँ ।’

६८ वर्षको उमेरमा फेरि घर बनाउनुपर्ने अवस्था कल्पना गर्दा उनको आँखामा असहायपन देखिन्छ । ‘कमाउने उमेर पनि ढलिसक्यो । अब गरिखाने ठाउँसमेत रहेन ।’

श्रीकृष्ण नेपालको परिवारमा अहिले राहतभन्दा ठूलो चिन्ता सुरक्षा हो । उनको साढे तीन तलाको घर बाढीले पुरेको छ । साढे चार रोपनी खेत पनि प्रभावित भएको छ । घरमा ८८ वर्षीया वृद्ध आमा छन् । परिवारमा सुत्केरी महिला पनि छिन् । कुल सात जना सदस्य अहिले अस्थायी आश्रयको खोजीमा छन् ।

बाढी आउनुअघि कुनै सरकारी निकायबाट पर्याप्त पूर्वसूचना नआएको श्रीकृष्णको गुनासो छ । ‘घरमा बसिरहेको अवस्थामा माथिबाट बाढी आयो । त्यो देखेर भाग्यौँ । ज्यान त जोगियो, तर घरभित्र अन्डरग्राउन्डमा रहेका भान्छाका सामान, चौपाया, धनसम्पत्ति र गहना सबै पुरियो ।’ 

उनका तीन वटा खसी र दुई वटा बाख्रा पनि बाढीमा पुरिएका छन् । छोरा वैदेशिक रोजगारीका लागि विदेश गएको एक महिना पनि भएको छैन । छोरी र बुहारीको आवतजावत गर्ने बाटोसमेत प्रभावित भएको छ । 

यस्तो अवस्थामा ८८ वर्षीया वृद्धा र सुत्केरी महिलालाई वर्षामा खुला ठाउँमा राख्नु कति जोखिमपूर्ण हुन्छ भन्ने उनीहरु आफैँभन्दा बढी कसले बुझ्ला ? ‘त्रिपालमुनि बस्न कठिन भइरहेको छ,’ श्रीकृष्णले भने, ‘वृद्ध आमा र सुत्केरीको सुरक्षाका लागि टिनको टस हालेर भए पनि तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्छ ।’

पूर्वसूचना : दस मिनेट पर्याप्त थियो कि थिएन?

लामुसोतीको घटनाले प्राकृतिक विपत्तिसँगै अर्को महत्वपूर्ण प्रश्न उठाएको छ, पूर्वसूचना प्रणाली कति प्रभावकारी थियो ?पीडितका अनुसार बाढी आउनुभन्दा करिब दस मिनेटअघि मात्रै सूचना पुगेको थियो । त्यो सूचना पाएपछि धेरै मानिसले ज्यान जोगाउन सके । यस अर्थमा दस मिनेट उनीहरुका लागि जीवनदायी बन्यो । तर अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ, यदि सूचना केही समय पहिले आएको भए के उनीहरुले आफ्नो चौपाया, महत्वपूर्ण कागजात, औषधि, खाद्यान्न वा आवश्यक सामान जोगाउन सक्थे ? 

बाढीको वेगका अगाडि घर जोगाउन सम्भव नहुन सक्छ । तर मानिसलाई सुरक्षित स्थानमा पु¥याउन, वृद्धवृद्धा र बालबालिकालाई निकाल्न, पशुचौपाया सार्न र आवश्यक कागजात तथा औषधि सुरक्षित गर्न केही अतिरिक्त समयले ठूलो फरक पार्न सक्छ ।

लामुसोतीको घटनाले पूर्वसूचनाको पहुँच मात्र होइन, त्यसको समय, विश्वसनीयता र स्थानीय तहसम्मको प्रभावकारी सम्प्रेषणबारे पनि गम्भीर बहस आवश्यक बनाएको छ । 

जनप्रतिनिधिको खोजीमा पीडित

विपत्तिपछि स्थानीय सरकार र जनप्रतिनिधिको भूमिका सबैभन्दा बढी अपेक्षा गरिन्छ । तर श्रीकृष्णको गुनासो फरक छ । ‘दुर्भाग्यको कुरा, घटनापछि वडाध्यक्ष वा अन्य जनप्रतिनिधि कोही पनि आएनन्,’ उनले भने । 

यस्तो गुनासोले विपद्को समयमा राज्यको उपस्थिति कसरी अनुभूत हुन्छ भन्ने प्रश्न उठाउँछ । विपद्को समयमा एउटा परिवारलाई केवल राहत सामग्री होइन, आफ्नो दुःख सुनिदिने मान्छे पनि चाहिन्छ ।

कसैको नागरिकता पुरिएको छ भने पुनःप्राप्तिको प्रक्रिया कसरी सुरु गर्ने ? लालपुर्जा पुरिएको छ भने प्रमाण कसरी जुटाउने ? घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रमाण कसले बनाउने ? पशुचौपाया पुरिएको छ भने क्षतिपूर्ति कसरी लिने ? खेतीयोग्य जमिनमा बालुवा भरिएको छ भने किसानले आगामी वर्ष खेती कहाँ गर्ने ? यी प्रश्नहरुको उत्तर राहतको बोरा वितरणले मात्र दिँदैन।

राहतको बोरा र पुनःस्थापनाको पहाड

लामुसोतीका परिवारलाई अहिले खाद्यान्न आवश्यक छ । पिउने पानी आवश्यक छ । लत्ताकपडा आवश्यक छ । अस्थायी बास आवश्यक छ । तर केही दिनपछि राहतको चामल सकिन्छ । त्रिपाल च्यातिन्छ । वर्षा रोकिन्छ । 

त्यसपछि ?

त्यसपछि सुरु हुन्छ वास्तविक चुनौती, पुनःस्थापना । २८ परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने हो भने कहाँ सार्ने ? नयाँ ठाउँमा जग्गा कसरी उपलब्ध गराउने ? घर कसरी बनाउने ? वृद्ध, महिला, बालबालिका र सुत्केरीका लागि विशेष व्यवस्था कसरी गर्ने ? कागजात गुमाएका नागरिकको नागरिकता र जग्गासम्बन्धी प्रमाण कसरी पुनःस्थापित गर्ने ? किसानले गुमाएको अन्न र पशुचौपायाको क्षतिपूर्ति कसरी गर्ने ?

यी प्रश्नहरु अहिले नै सम्बोधन गर्नुपर्ने छन् । नत्र राहत वितरणको प्रारम्भिक उत्साह सकिएपछि लामुसोतीका परिवारको पीडा समाचारबाट हराउन सक्छ । विपत्तिबाट बचेका मानिसहरू प्रायः एउटै कुरा भन्छन्, ‘ज्यान त बच्यो ।’

लामुसोतीका मानिस पनि यही भन्छन् । तर ज्यान बचेपछि सुरु हुने जीवन कति कठिन हुन्छ भन्ने कुरा उनीहरूले अहिले भोगिरहेका छन् । राजेन्द्रलाई आफ्ना बालबच्चा सुरक्षित छन् भन्ने सन्तोष छ । लोकनाथलाई परिवारका सदस्य बाँचे भन्ने राहत छ । श्रीकृष्णलाई वृद्ध आमा र सुत्केरी जोगिए भन्ने खुसी छ । 

तर त्यसपछि उनीहरु फेरि आफ्नो पुरानो जीवनतर्फ फर्किन खोज्दा त्यहाँ केही छैन । घर छैन । गोठ छैन । धान छैन । खेत छैन । सामान छैन । कतिपयको कागजात छैन । र सबैभन्दा महत्वपूर्ण—पुरानो ठाउँमा फर्केर उभिने आधारसमेत छैन ।

लामुसोतीलाई अहिले केवल सहानुभूति चाहिएको छैन । उसलाई योजनाबद्ध सहयोग चाहिएको छ । पहिलो चरणमा सुरक्षित अस्थायी बास । त्यसपछि खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा, कपडा र आवश्यक दैनिक सामग्री । पशुचौपायाको क्षतिको मूल्यांकन । बालबालिकाको शिक्षा निरन्तरता । महिला, सुत्केरी, वृद्धवृद्धा र अशक्तका लागि विशेष सुरक्षा । त्यसपछि मात्र दीर्घकालीन पुनःस्थापना । यदि पुरानो बस्ती जोखिमयुक्त बनेको हो भने वैज्ञानिक अध्ययन गरेर सुरक्षित स्थानमा पुनःस्थापना आवश्यक हुन सक्छ । 

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ११ : ०२ बजे