काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले सो आयोजनाको प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्न लागेको हो ।
असार १७ गते बसेको तेह्रथुम पावर कम्पनीको ६७औं सञ्चालक समिति (बोर्ड) बैठकले उक्त आयोजनामा लगानी गर्ने औपचारिक निर्णय गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्र लेख्दै यस लगानीबारे जानकारी गराएको छ ।
कम्पनीले आफ्नो आठौं वार्षिक साधारण सभाबाट प्राप्त सहमति र प्रबन्ध पत्रको व्यवस्था बमोजिम बैंक खातामा रहेको लगानी योग्य मौज्दात रकमबाट यो सेयर खरिद गर्न लागेको जनाएको छ । जसअनुसार नर्थ समिट हाइड्रोको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ लाख कित्ता सेयर खरिद गरिनेछ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका (साबिकको बाहुनडाँडा र भुलभुले) मा निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजनाको निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढेको र बजेटको हिसाबले पनि आयोजना आकर्षक देखिएकाले लगानी गर्ने निर्णय लिइएको कम्पनीको भनाइ छ ।
विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको यस आयोजनाले सन् २०२३ को नोभेम्बर सम्ममा व्यावसायिक उत्पादन सुरु गर्ने योजना राखेको छ । यस लगानी सम्बन्धी जानकारी कम्पनीले धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पनि बोधार्थ पठाएको छ ।








प्रतिक्रिया