काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट मोहन डाँगी अध्यक्षमा चयन भएका छन्।
शनिबार सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्षबाहेक अन्य २५ पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा चयन भएका छन्। उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन्। महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन्।
साधारणसभाले इप्पानको विधान संशोधन गर्दै उपाध्यक्षको संख्या पाँचबाट सात तथा सचिवको संख्या पाँचबाट सात पुर्याउने व्यवस्था पारित गरेको छ। संशोधित विधानअनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई उपाध्यक्ष तथा कृष्ण घिमिरे र दीपक पौडेललाई सचिवमा थप गर्ने सहमति भएको छ।
अधिवेशनले इप्पानको विधान २०७८ संशोधन गर्दै अध्यक्षबाहेक सबै पदमा प्रत्यक्ष निर्वाचनमार्फत उम्मेदवारी दिन सकिने व्यवस्था गरेको छ। अध्यक्ष पदका लागि भने कम्तीमा एक कार्यकाल कार्यसमितिमा काम गरिसकेको हुनुपर्ने प्रावधान राखिएको छ।
संशोधित विधानमा पाँच स्थायी आमन्त्रित सदस्य मनोनयन गर्न सकिने व्यवस्था पनि गरिएको छ। सोहीअनुसार इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई स्थायी आमन्त्रित सदस्यका रूपमा प्रस्ताव गरिएको छ। यी व्यवस्था जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने इप्पानले जनाएको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीले संस्थालाई थप समावेशी र लोकतान्त्रिक बनाउने उद्देश्यले विधान संशोधन गरिएको बताए। संशोधित विधानमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कुनै राजनीतिक दलमा आबद्ध हुन नपाइने तथा विगतमा आबद्ध रहेको भए त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।
कार्यसमितिका सदस्यमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने चयन भएका छन्।




























प्रतिक्रिया