Logo

समाचार

ट्रेड युनियन कांग्रेसको टोली आयोगमा, सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन खोजेको आरोप



काठमाडौं । सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन गर्न खोजेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार राष्ट्रिय मानव अधिकार आयोग ध्यानाकर्षण गराएको छ । 

ट्रेड युनियन कांग्रेसको एक प्रतिनिधि मण्डलको टोलीले आयोगका अध्यक्ष तप बहादुर मगरसँग भेटवार्ता गर्दै वर्तमान सरकारले विना संवाद विभिन्न निर्णयहरु गरिएकोप्रति ध्यानाकर्षण गराएको हो ।

भेटका क्रममा निजामति क्षेत्रको ट्रेड युनियन खारेजी गरेको, सरकार मातहतको श्रमिक सरोकारवाला त्रिपक्षीय समितिबाट श्रमिक प्रतिनिधिहरुलाई हटाएको, श्रमिकहरुको योगदान रहेको सामाजिक सुरक्षा कोषलाई युवा तथा श्रम रोजगार मन्त्रालयबाट महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा स्थानन्तरण गरेका लगायतका निर्णयले ट्रेड युनियन अधिकारलाई संकुचन गर्न खोजेको विषयमा जानकारी गराएको थियो ।

युनियनका अध्यक्ष योगेन्द्र कुँवरको टोलीले ज्ञापन पत्र बुझाउँदै सरकारका कदमबारे आयोगसँग छलफल समेत गरेको हो । 

युनियनका अध्यक्ष कुँवरले संवैधानिक र प्रचलित कानुनी अधिकारलाई हठात र विना संवाद निजामति तर्फको युनियनलाई खारेजी गर्दै युनियन गतिविधिलाई संकुचन गर्दै नेपालको श्रमिक आन्दोलनलाई संकुचन गर्न खोजेकाले आयोगलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको बताए ।

साथै उनले सबै सरोकारवालालाई यस विषयमा छलफल गराउन पनि आयोगका अध्यक्ष मगरलाई अनुरोध समेत गरे ।

युनियनका महासचिव अजयकुमार राईले ज्ञापन पत्र वाचन गर्दै आफूहरुलाई मानव अधिकार आयोगका अध्यक्ष मगरले मानव अधिकार भित्र ट्रेड युनियन अधिकार पनि रहेको हुँदा उक्त विषयलाई गम्भीरतापूर्वक हेर्दै छलफल गर्ने र निष्कर्षमा पुग्ने बचन दिएको जानकारी दिए ।

महासचिव राईले सरकारले विभिन्न अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुको पनि उल्लंघन गर्नु र संवाद समेत नगर्नु न्यायोचित नभएको बताए । 

सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महिला उपाध्यक्ष राधिका कुईँकेल, केन्द्रिय सदस्य तथा ट्रेड युनियन तथा मानव अधिकार विभागका सचिव केपी अर्याल र केन्द्रीय सदस्य सुदिप बुढाथोकी समेत उपस्थित थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ७ : ५४ बजे