Logo

Breaking News 1

इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई



विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।

गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।

प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख रुपैयाँ र उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँमा बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए । प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्ड र घोषित भए । गछियाका बिशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए बापत नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । राष्ट्रिय जागृती क्लबका युजन राई उदयमान खेलाडी बने । उनले ३२ इन्चको एलइडी टिभी पुरस्कार पाए ।

अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो यूथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसँग उपाधि भिडन्त पक्का गरेको थियो । पहिलो सेमिफाइनलमा गछियाले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

गछियाले क्वाटर फाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो । राष्ट्रिय जागृती क्लबले आयोजना गरेको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता चैत्र ३० गते देखी सुरु भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ५३ बजे