काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।
आधुनिक समयमा वित्तीय क्षेत्रमा एआईको तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयताका जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित र न्यूनीकरण गर्ने उद्देश्यसहित यो अनुसन्धान अनुदान कार्यक्रम ल्याइएको हो ।
काठमाडौँमा हालै आयोजित एक कार्यक्रमका बीच संस्थाले यस ग्रान्टको उद्देश्य तथा प्राथमिकताका क्षेत्रहरू सार्वजनिक गरेको छ ।
संस्थाले अनुसन्धान, नियमनकारी निकाय र वित्तीय उद्योगहरूबीच त्रिपक्षीय बलियो सहकार्य स्थापित गर्दै नेपाललाई सुरक्षित, नैतिक र सबल एआई प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने दूरदृष्टि अघि सारेको छ ।
यस अनुसन्धान अनुदानले वित्तीय क्षेत्रका चार मुख्य आयामहरूलाई उच्च प्राथमिकतामा राखेको सीएसआरआई नेपालका अध्यक्ष डा.शालिग्राम पराजुलीले बताए ।
उनका अनुसार वित्तीय जोखिम न्यूनीकरण गर्न डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी (आइडेन्टिटी थेफ्ट) रोक्न र स्वचालित रूपमा हुने वित्तीय कारोबारलाई पूर्ण सुरक्षित बनाउन एडभान्स्ड एआई मोडेलहरूको विकास गरिनेछ ।
त्यसैगरी, नेपालको विद्यमान नियमनकारी व्यवस्थाअनुसार ग्राहकको गोपनीयता अक्षुण राख्न ‘फेडरेटेड लर्निङ’ जस्ता आधुनिक एआई प्रविधिको प्रवद्र्धन गर्ने, अनुसन्धानमार्फत नेपालका युवा डेटा वैज्ञानिक, अनुसन्धानकर्ता र साइबर सुरक्षाविद्हरूलाई व्यावहारिक अवसर दिँदै स्वदेशी दक्ष जनशक्ति उत्पादन गर्ने तथा नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायहरूलाई तथ्यपरक नीति निर्माणमा अनुसन्धानमा आधारित सुझाव उपलब्ध गराउने प्राथमिकता निर्धारण गरिएको अध्यक्ष डा.पराजुलीले जानकारी दिए ।
यो ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ को कन्सेप्चुअल फ्रेमवर्क सीएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी,सिएआरई नेपालका बरिष्ठ उपाध्यक्ष प्राडा गजेन्द्र शर्मा सचिवद्वय सरला कार्की र बन्दना शर्मा,कार्यसमिति सदस्य शान्तिकला सुवेदी तथा सदस्य संगम न्यौपानेले संयुक्त रूपमा तयार पारेका हुन् ।
संस्थाले यस ग्रान्टअन्तर्गत मुख्य चारवटा अनुसन्धान क्षेत्र र तिनबाट हासिल हुने अपेक्षित उपलब्धिहरूलाई समेत प्रस्ट पारेको छ । पहिलो, ‘एआई थ्रेट इन्टेलिजेन्स’ मार्फत एआईमा आधारित साइबर खतराहरूको वास्तविक समयमै निगरानी गरी बैंकहरूका लागि स्वचालित खतरा पहिचान प्रणाली विकास गरिनेछ । दोस्रो, ‘डेटा गभर्नेन्स’ अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी सुरक्षित र गोपनीयता(मैत्री वित्तीय डेटा प्रशोधन ढाँचा तयार पारिनेछ । तेस्रो, ‘वित्तीय ठगी नियन्त्रण’ को क्षेत्रमा शंकास्पद कारोबारहरूको पूर्वअनुमान गरी सम्भावित वित्तीय नोक्सानी रोक्ने र ग्राहकको विश्वास बढाउने लक्ष्य लिइएको छ । चौथो, ‘नैतिक एआई’ (एथिकल एआई) मार्फत कर्जा मूल्यांकन तथा बैंकिङ सेवाहरूमा एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष र जवाफदेही बनाइनेछ ।








प्रतिक्रिया