काठमाडौं । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यतिबेला स्वदेशी पहिचान र महिला उद्यमीहरुको संघर्ष, साहस र सफलताको साझा मञ्च बनेको छ ।
‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ संचालन भएको मेलामा महिलाहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखेर प्रचार गरिरहेका छन् ।
स्टलहरुमा भेटिएका उद्यमी महिलाका संघर्ष र सफलताका कथाहरू सुन्दा लाग्छ अव नेपाली महिलाहरू केवल गृहिणीका रुपमा मात्र सीमित छैनन्, उनीहरू देशको अर्थतन्त्रका बलिया खम्बा बन्दै छन् ।
प्रदर्शनी कक्षभित्र पस्नेबित्तिकै नेपालका ७७ वटै जिल्लाको सुगन्ध र सीप एकै ठाउँमा संकलित भएको आभास हुन्छ । यहाँ केवल सामानको किनबेच मात्र भइरहेको छैन, बरु चुलोचौकोबाट निस्केर व्यावसायिक जगतमा आफ्नो दह्रो उपस्थिति जनाएका महिलाहरूको सफलता देखिन्छ ।
मेलामा आएकी नेपालगञ्जकी सरिता चौधरी पञ्चशिल हस्तकला केन्द्रकी अध्यक्ष हुन् । उनले १३ वर्षदेखि जंगलमा पाइने काँस र मुज घाँसबाट आकर्षक सामग्री बनाइरहेकी छिन् ।
‘यो काँस काट्न सजिलो छ तर संकलन गर्न गाह्रो पर्छ । जंगलमा जानुपर्छ, हात्तीको डर हुन्छ । बर्दियाको जंगलमा मान्छे लगाएर काट्छौ,’ सरिताले सुनाइन् ।
उनले बनाएका हटकेस, डस्टबिन र ज्वेलरी बक्सहरूको माग काठमाडौंमा उच्च छ । पाँच जना महिला मिलेर चलाएको यो केन्द्रले उनीहरूलाई आत्मनिर्भर बनाएको छ । जंगलमा पाइने काँस र मुज घाँसबाट आकर्षक सामग्री बनाउने पुर्खौली पेसाले नै आफु आत्मनिर्भर भएको उनी सुनाउँछिन् ।
सरिता गर्वका साथ भन्छिन्, ‘दुई चार पैसा कमाइ हुँदा अहिले कसैसँग माग्नु परेको छैन, जीवन सहज भएको छ ।’
मेलामा भेटिएकी दाङकी झोला डाँगीको कथा झन् मार्मिक र प्रेरणादायी छ । २०५२ सालको सशस्त्र द्वन्द्वबाट प्रभावित भएर रोल्पाबाट दाङ झरेकी झोला सुरुमा सामान्य गृहिणी मात्र थिइन्। तर, २०६९ सालदेखि ‘युनिक दिदीबहिनी अल्लो उद्योग’ सुरु गरेपछि उनको पहिचान बदलिएको छ ।
अल्लो(सिस्नु) र गाँजाको रेसा (हेम) बाट जुत्ता, कोट र ब्याग बनाउने उनको उद्योगमा अहिले २० जनाले प्रत्यक्ष र करिब १५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन्।
‘मेरो कच्चा पदार्थ हेम र अल्लो रोल्पा, रुकुम, बझाङ, बाजुरालगायत सुदुरपश्चिमका थुप्रै ठाउँबाट आउँछ । सबै दिदीबहिनी मिलेर काम गर्ने भएकाले नाम पनि युनिक दिदीबहिनी अल्लो राखेर काम गरेका छौ,’ उनले भनिन् ।
झोला डाँगी आफ्नो पेसाप्रति सन्तुष्ट छिन् । उनी भन्छिन्, ‘हिजो म गृहिणी मात्र थिएँ, आज उद्यमी भएर देशका विभिन्न जिल्लाका दिदीबहिनीलाई भेट्न पाउँदा खुसी लाग्छ।’
डाँगीले उत्पादन गरेका सामानहरु सबै जिल्लाका शहरमा पुग्छन् नै विदेशमा उपहारकोरुपमा पनि पुगेका छन् । समय समयमा हुने यस्ता व्यवसायीक मेलाहरुले थप उर्जा दिने उनी सुनाउँछिन् ।
‘नेपालको प्राय सबै जिल्लाहरुमा सामान पुगेको छ, बाहिर विदेशमा चाहीं गिफ्टको रुपमा जान्छ । हामी सबै मेला महोत्सवहरुमा पुग्छौ । राम्रो अडर आउँछ । जीवन धान्न सहज छ । सिपले जिविकोपार्जनका लागि सहज बनाएको छ । यस्ता मेलाहरुको थप उत्साह दिन्छ,’ उनले भनिन् ।
यस्तै, महको व्यवसायलाई वैज्ञानिक ढङ्गले अगाडि बढाउने महालक्ष्मी श्रेष्ठको अनुभव ३० वर्ष लामो छ । वनस्पति शास्त्रीको रूपमा महमा अनुसन्धान गरेकी उनले बी किपिङ एण्ड रिसर्च सेन्टरमार्फत मह मात्र होइन, मौरीको मैन, लिपबाम र साबुन समेत उत्पादन गर्छिन् । ‘मह मात्र होइन, मौरीबाट प्राप्त हुने बि–पोलन, प्रोपोलिस र मैन पनि औषधीय गुणले भरिपूर्ण हुन्छन्,’ उनी बताउँछिन् ।
उनले नेपालमा महको खपत पहिले निकै कम रहेको स्मरण गर्दै भनिन्, ‘पहिले मह खानुपर्छ भन्ने चेतना पनि थिएन। अहिले विस्तारै यसको प्रयोग बढ्दै गएको छ र निर्यात पनि सुरु भएको छ।’
उनका अनुसार नेपाली महको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ, तर सरकारी डकुमेन्टेसन र डिजिटल मार्केटिङको अभावले ठूलो परिमाणमा निर्यात गर्न चुनौती छ।
‘अन्तर्राष्ट्रिय बजारमा जानका लागि प्रत्येक देशका फरक–फरक खाद्य मापदण्ड र डकुमेन्टेसन प्रक्रिया पूरा गर्नुपर्छ, जुन निकै जटिल छ,’ उनले भनिन्। उनका अनुसार जापान, अमेरिका, अस्ट्रेलिया लगायत केही देशमा सानो परिमाणमा मह निर्यात भए पनि ठूलो परिमाणमा विस्तार हुन सकेको छैन ।
उनले सरकारीरुपमा सहयोग हुनुपर्ने बताइन् । उनले भनिन्, ‘उत्पादन राम्रो छ भन्ने कुरा उद्यमीले मात्र भन्यो भने विश्वास कम हुन्छ। सरकारले नै गुणस्तर प्रमाणित गरिदिए बजारमा विश्वास बढ्छ।’
त्यस्तै, उनले डिजिटल मार्केटिङ, प्याकेजिङ र अन्तर्राष्ट्रिय स्तरको ब्रान्डिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताइन्। ‘अहिलेको डिजिटल युगमा हाम्रो मार्केटिङ अझै कमजोर छ । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न आधुनिक मार्केटिङ र आकर्षक प्याकेजिङ आवश्यक छ,’ उनले भनिन्।
महिला उद्यमीका रूपमा सुरुवाती दिनहरू चुनौतीपूर्ण रहेको अनुभव सुनाउँदै श्रेष्ठले समाजको सोच पनि बाधक बनेको बताइन्। ‘पहिले महिलाले यस्तो व्यवसाय गर्न सक्दैनन् भन्ने धारणा थियो। तर, निरन्तर प्रयासले महिलाले पनि जुनसुकै क्षेत्रमा सफल हुन सक्छन् भन्ने प्रमाणित भएको छ,’ उनले भनिन्।
उनले महिलाको सशक्तिकरणका लागि स्वरोजगार अत्यावश्यक रहेको बताइन् । ‘प्रत्येक महिला आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ। तर, सुरुवातमा पुँजी जुटाउन र सही व्यवसाय पहिचान गर्न कठिन हुन्छ,’ उनले भनिन् ।
उनका अनुसार महिला उद्यमी महासंघले आयोजना गर्ने यस्ता मेलाहरूले देशभरका महिलालाई बजार पहुँच, व्यवसायिक नेटवर्क र सीप विकासमा ठूलो सहयोग पु¥याएको छ।
श्रेष्ठले सरकारसँग यस्ता कार्यक्रमलाई थप सहयोग गर्न र महिला उद्यमीलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन आग्रह समेत गरेकी छन्। मेलाको अर्को आकर्षण बनेकी छन् मुस्ताङको घरपझुङ गाउँपालिका–२ मार्फाकी उद्यमी सुकुन रसाइली बिक । मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योगकी प्रोपाइटर सुकुनले झन्डै एक करोडको लगानीमा ‘ग्लास हाउस’ स्थापना गरेकी छिन्। स्याउको सुकुटी, क्यान्डी र मुस्ताङको आलुको चिप्स उनको मुख्य उत्पादन हो ।
दलित समुदाय र दुर्गम भूगोलको चुनौती चिर्दै अघि बढेकी सुकुनले आफ्ना श्रीमानलाई १४ वर्षको वैदेशिक रोजगारीबाट फर्काएर स्वदेशमै व्यावसायिक बनाएकी छिन्।
ग्रामीण उत्पादनलाई प्राथमिकता र आवश्यक सहयोग दिए महिलाहरूले देशको अर्थतन्त्र मजबुत बनाउन सक्ने उनले बताएकी छन्। नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सहभागी हुन ललितपुर आइपुगेकी सुकुनले भनिन्, ‘हिमालपारिको जिल्लाबाट आएर आफ्ना उत्पादन यहाँ प्रदर्शन गर्न पाउँदा निकै खुशी लागेको छ।’
उनका अनुसार मुस्ताङमा आउने आन्तरिक तथा बाह्य पर्यटक नै मुख्य बजार हो । ‘मुस्ताङमै माग धेरै छ, उत्पादन पुर्याउनै गाह्रो हुन्छ,’ उनले बताइन्।
साथै काठमाडौं, बुटवल, भैरहवा, पोखरा र चितवनसम्म पनि उनको उत्पादन विस्तार भइरहेको छ । विदेशी पर्यटकहरूले विशेष गरी एप्रिकोट, स्याउका परिकार र कम मसलेदार चिप्स रुचाउने गरेको उनले जानकारी दिइन् ।
उनको उद्योगले मुस्ताङमा पाइने स्थानीय फलफूल तथा तरकारीलाई प्रशोधन गरी बजारमा पुर्याउने काम गर्दै आएको छ। स्याउका विभिन्न परिकार स्याउको सुकुटी, जाम, क्यान्डीसँगै स्थानीय चिप्स, टिमुरका उत्पादन तथा अन्य सामग्री बजारमा ल्याइँदै आएको छ ।
२०७० सालमा उद्योग दर्ता गरी व्यवसाय सुरु गरेकी बिकको उद्योगमा उत्पादित सबै सामग्री खाद्य गुणस्तर परीक्षणपछि मात्र बजारमा पठाइन्छ । उनले व्यवसाय सुरु गर्ने प्रेरणा महिला सशक्तिकरणसँग जोडिएको बताइन् । ‘महिला आर्थिक रूपमा सक्षम नभएसम्म हिंसा अन्त्य हुँदैन। त्यसैले स्वरोजगार अत्यावश्यक छ,’ उनले भनिन्।
उद्योगमार्फत उनी आफूसँगै अन्य महिलालाई पनि रोजगारी दिन सफल भएकी छन्। सिजनअनुसार १०–१५ जनासम्मलाई रोजगारी दिने गरेको बताउँदै उनले वैदेशिक रोजगारी न्यूनीकरणमा पनि यस्तो उद्यमले सहयोग गर्ने उल्लेख गरिन्।
उनले आफ्ना श्रीमानलाई समेत विदेशबाट फर्काएर स्वदेशमै व्यवसायमा संलग्न गराएको अनुभव सुनाइन्। तर, उद्यम सञ्चालनमा विभिन्न चुनौतीहरू रहेको उनले बताइन्।
‘महिलालाई सहुलियत ऋण र बिना धितो कर्जा दिने भनिए पनि व्यवहारमा अझै कठिनाइ छ, स्थानीय सरकारले भने पनि बैंकले दिदैन,’ उनले भनिन्।
उनका अनुसार मेसिन, जनशक्ति र लगानीको अभावले धेरै उद्योग संकटमा छन् । सरकारप्रति उनले स्पष्ट आग्रह गर्दै भनिन्, ‘भवन निर्माणमा बजेट खर्च गर्नु भन्दा उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्छ। भवन बनाउन ५०–६० लाख बजेट नदिनुस्, हामी उद्यमीलाई १०–१२ लाखको मेसिन किन्ने बजेट दिनुस्। हामी काम गर्न सक्छौँ। हामीलाई मेसिन र प्रविधि उपलब्ध गराइदिए हजारौं महिला उद्यमी अघि बढ्न सक्छन्।’
उनले ग्रामीण उत्पादनको उचित ब्रान्डिङ, प्याकेजिङ र बजार विस्तारमा ध्यान दिए अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावना रहेको उल्लेख गरिन् । आधुनिक प्रविधि र विना धितो ऋणको खाँचो रहेको भन्दै उनले भनिन्, ‘हामीले राम्रो प्याकेजिङ र ब्रान्डिङ गर्न सके डलर भित्र्याउन सक्छौं।’ सामाजिक विभेदका बाबजुद आफूले निरन्तर संघर्ष गर्दै सफलता हासिल गरेको बताउँदै बिकले अन्य महिलालाई पनि आत्मनिर्भर बन्न आग्रह गरिन्।
‘हिमालपारिको दुर्गम ठाउँबाट मैले गर्न सके भने अरूले पनि सक्छन्,’ उनले भनिन् । उनले कृषिको जिम्मेवारी अहिले महिलाको काँधमा आएको उल्लेख गर्दै सरकारलाई महिला उद्यमीलाई लक्षित तालिम, प्रविधि र बजार पहुँचमा सहयोग गर्न आग्रह गरिन्।
‘अवसर खोज्ने र चुनौती सामना गर्ने क्षमता महिलामा छ, अब सरकारले साथ दिनुपर्छ,’ उनले भनिन् । दलित र दुर्गम भूगोलको चुनौती चिर्दै अघि बढेकी उनी महिलाहरूलाई घरभित्र सीमित नहुन आग्रह गर्छिन् । मनिषा बस्नेत, नेपाल न्यूज बैंक









प्रतिक्रिया