काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निरीक्षक निम डिकी शेर्पाले नयाँ इतिहास रचेकी छन् । उनी सगरमाथा र ल्होत्से दुवै हिमाल आरोहण गर्ने पहिलो महिला सशस्त्र प्रहरी कर्मचारी बनेकी छन् ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा शेर्पाले आफ्नो यो उपलब्धि बाल्यकालदेखि मनमा बसेको सपनाको परिणाम भएको बताइन् । हिमाल आरोही पासाङल्हामु शेर्पाको जीवनकथा पढेपछि आफूमा हिमाल आरोहण गर्ने प्रेरणा जागेको उनको भनाइ छ ।
‘यो मेरो बाल्यकालदेखिको सपना थियो । त्यसलाई साकार बनाउन सशस्त्र प्रहरी बल नेपालको ठूलो भूमिका छ । संगठनमा प्रवेश गरेपछि मभित्र आत्मविश्वास अझ बढ्यो, तर हिमाल आरोही पासाङल्हामु शेर्पाको जीवनकथा पढेपछि आफूमा हिमाल आरोहण गर्ने प्रेरणा जागेको हो,’ उनले भनिन् ।
सगरमाथाको चुचुरोमा पुगेपछि आँसु झर्यो
आरोहणअघि आफूले लोबुचे हिमाल चढेर उच्च हिमाली वातावरणसँग अभ्यस्त हुने अभ्यास गरेको बताउँदै शेर्पाले सगरमाथाको चुचुरोमा पुगेको क्षण जीवनकै अविस्मरणीय अनुभव भएको सुनाइन् । उनका अनुसार त्यतिबेला उनले सबैभन्दा पहिले भगवानलाई सम्झिएकी थिइन् ।
उनले भनिन्, ‘फस्र्टमा त मैले ‘हाई’ पचाउनका लागि भनेर लोबुचे पिक चढें, सगरमाथाको शिखरमा पुग्दा म निशब्द भएँ । आँखाबाट आँसु झरिरहेको थियो । विश्वकै सर्वोच्च बिन्दुमा पुगेको अनुभूति शब्दमा व्यक्त गर्न सकिँदैन, एक त थ्याङ्क्यु भगवान भनें । किनभने हामी सबै कुराबाट पोक्त हुँदाहुँदै पनि कहिलेकाहीँ भाग्यले साथ नदिई त्यहाँ पुग्न सक्दैनथ्यौँ। त्यही भएर ‘थ्याङ्क गड’ म तपाईंको कारणले यहाँ छु भन्नेभयो ।’ उनले भाग्यले साथ नदिए शिखरमा पुग्न सकिँदैन त्यसैले भगवानप्रति कृतज्ञता व्यक्त गरेको आफ्नो अनुभव सुनाइन् ।
ल्होत्से आरोहण अझ कठिन
निम डिकी शेर्पाका अनुसार सगरमाथाभन्दा ल्होत्से आरोहण उनको लागि बढी चुनौतीपूर्ण रह्यो । सगरमाथा आरोहणपछि आएको शारीरिक थकान, अनिद्रा, अक्सिजनको कमी, प्रतिकूल मौसम र पर्याप्त खानपानको अभावले ल्होत्से आरोहण कठिन बनेको उनको अनुभव छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भनिन्, ‘ल्होत्से चढ्दा गाह्रो भएको थियो । सगरमाथा चढेर आउँदा पछिको थकानले पनि होला रातको अनिन्द्रा, मौसमको चुनौती, अक्सिजनको कमी पनि होला । खाना पचिरहेको थिएन्, त्यस कारण पनि समस्या भएको हो ।’
उनले हिमाल चढ्दा चुनौतीे शारीरिक र मानसिक दुवै हुने गरेको बताइन् । उनले हिमाल चढ्दा शारीरिक मात्र नभइ मानसिक रूपमा पनि निकै बलियो हुनुपर्ने बताइन् ।
उनल भनिन्, ‘हिउँ परिरहने, माथिबाट आइसफल खसिरहने अवस्था थियो । पहिले त मौसमी चुनौतीको सामना गर्नुपर्यो । मौसम कतिबेला के हुन्छ भन्ने कुरा नै थाहा हुँदैन । सगरमाथा जाँदा ‘डेथजोन’ लाई नै क्रस गरेर आएको हुन्छौँ । हामीले शारीरिक, मानसिक सबै चुनौती भोग्नुपर्ने हुन्छ । तर आफूमा एकदम आत्मविश्वास बढाउन चाहीं पर्छ । म सक्छु भन्ने भावनालाई लिएर अगाडि बढ्नुपर्ने हुन्छ ।’
एक वर्षको तयारी, तीन महिनाको विशेष प्रशिक्षण
आरोहणका लागि आफूले करिब एक वर्षअघिदेखि आवश्यक प्रक्रिया र स्वीकृतिहरू पूरा गरेको तथा अन्तिम चरणमा तीन महिना विशेष प्रशिक्षण लिएको उनले बताइन् । संगठनको सहयोगबिना यो उपलब्धि सम्भव नहुने उनको भनाइ थियो।
‘विशेष आरोहणकै लागि भनेर करिब तीन महिना प्रशिक्षण लिए । त्यो भन्दा अगाडि नीति नियमहरू बुझें । म संगठनलाई प्रतिनिधित्व गर्ने मान्छे, सरकारको नीति नियमहरूलाई पालना गर्नुपर्ने हुन्छ । त्यसको लागि करिब एक वर्ष अगाडिदेखि तयारी गरेको हुँ । जब उताबाट स्वीकृतिहरू आउन थाल्यो, त्यसपछि करिब तीन महिनाको बिचमा नै जाने निर्णय सबै भयो । संगठनले समय व्यवस्थापनदेखि लिएर मानसिक हौसला दिनेसम्म सबै प्रकारको सहयोग गर्याे,’ उनले भनिन् ।
हार मान्ने अवस्था आयो, तर जिम्मेवारीले अघि बढायो
लोबुचे हिमाल आरोहणपछि केही दिन बिरामी परेपछि आफूले आरोहण छाड्ने सोच बनाएको क्षण पनि आएको शेर्पा सम्झन्छिन् । परिवारले समेत अर्को वर्ष प्रयास गर्न सुझाव दिएको थियो ।
तर त्यसबेला आफूले केवल व्यक्तिगत सपना पूरा गर्न नभई सशस्त्र प्रहरी बल नेपाल र सम्पूर्ण नेपाली महिलाको प्रतिनिधित्व गरिरहेको महसुस गरेको उनले बताइन् ।
‘म एक्लै निम डिकी शेर्पा मात्र होइन, मेरो पछाडि संगठन थियो । म एक महिला भएर अगाडि बढिरहेकी थिएँ। त्यही सोचले मलाई पुनः उठ्न र अघि बढ्न प्रेरित गर्याे,’ उनले भनिन् ।
परिवारको साथ र श्रीमानको विश्वास
आरोहणको सुरुवाती चरणमा श्रीमानले जोखिमका कारण नजान आग्रह गरे पनि सफलतापछि सबैभन्दा बढी खुसी उनै भएको शेर्पा बताउँछिन् ।
‘परिवारमा चिन्ता स्वाभाविक थियो । तर मैंले एकपटक प्रयास गर्छु भनेर हिँडेकी थिएँ। सफल भएर फर्किएपछि परिवारको गर्व र खुसी देख्दा झन् हौसला मिल्यो,’ उनले भनिन् ।
महिलाका लागि प्रेरणा
हिमाल आरोहणको क्रममा महिलाहरूले मासिक धर्मलगायत शारीरिक चुनौती पनि सामना गर्नुपर्ने अनुभव सुनाउँदै शेर्पाले महिलाहरूले आत्मविश्वासका साथ अघि बढे कुनैपनि क्षेत्रमा सफलता हासिल गर्न सक्ने बताइन् ।
‘हामी केवल घरपरिवारको जिम्मेवारी पूरा गर्नका लागि मात्र जन्मेका होइनौँ। इच्छा शक्ति, मेहनत र आत्मविश्वास भए महिलाले पनि जुनसुकै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्छन्,’ उनले भने ।
उनले आफूभन्दा अगाडिका महिला आरोहीहरूबाट प्रेरणा पाएको उल्लेख गर्दै आगामी पुस्ताका महिलालाई आफ्ना सपना पछ्याउन आग्रह गरिन् ।
हिमाल संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भएकाले हिमाल संरक्षण र पर्यटन प्रवद्र्धनमा सबैले योगदान गर्नुपर्ने शेर्पाको धारणा छ ।
उनका अनुसार हिमाल संरक्षणका विषयमा बारम्बार आरोहण गर्ने अनुभवी आरोहीहरूका अनुभव अझ महत्त्वपूर्ण हुन्छन् । साथै विदेशी पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराएर नेपालको पर्वतीय पर्यटनलाई अझ सशक्त बनाउनुपर्ने उनको सुझाव छ ।
फेरि कर्तव्यतर्फ
हाल विभिन्न कार्यक्रम र अन्तर्वार्तामा व्यस्त रहेकी शेर्पा केही समय विश्रामपछि पुनः आफ्नो नियमित जिम्मेवारीमा फर्किने तयारीमा छिन् ।
‘आगामी दिनमा के हुन्छ समयले नै बताउँछ । अहिले मेरो प्राथमिकता संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नु हो,’ उनले भनिन् ।
हार नमानेको अठोटले दिलायो दोहोरो सफलता
तर आरोहणको यात्रा सुरु गर्दा निम डिकी शेर्पाको लक्ष्य केवल सगरमाथाको चुचुरोमा पुग्ने थियो । ल्होत्से आरोहणको योजना मनमा भएपनि त्यो आत्मविश्वास भने बिस्तारै उचाइसँगै बढ्दै गएको थियो । तर सपना पूरा गर्ने बाटो सहज थिएन ।
लोबुचे पिक आरोहणपछि उनी अचानक बिरामी परिन् । लगातार पाँच–छ दिन आराम गर्नुपर्यो । शरीर कमजोर थियो, मनमा अन्योल थियो । श्रीमानले पनि जोखिम नलिन आग्रह गर्दै अर्को वर्ष प्रयास गर्न सुझाव दिनुभएको थियो । एक क्षण त उनलाई पनि लाग्यो सायद अब यात्रा यहीँ टुंगिन्छ, सायद अब फर्किनुपर्छ ।
तर त्यो निराशाको बीचमा उनले आफूलाई फेरि सम्झाइन् । उनी केवल निम डिकी शेर्पा मात्र थिइनन् । उनको पछाडि एउटा संगठनको विश्वास थियो, सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी थियो । त्यसमाथि उनी हजारौँ नेपाली छोरीहरूको सपना र सम्भावनाको प्रतीक बनेर अघि बढिरहेकी थिइन् । यही सोचले उनलाई फेरि उठ्न, लडाइँ जारी राख्न र लक्ष्यतर्फ अघि बढ्न ऊर्जा दियो ।
उनी शेर्पा समुदायकी छोरी थिइन्, बुहारी थिइन्, तर त्यसभन्दा माथि राष्ट्रको सुरक्षा निकायको प्रतिनिधि थिइन् । उनलाई चिन्ने धेरैका लागि उनी केवल निम डिकी शेर्पा होइनन्, सशस्त्र प्रहरी बल नेपालको एउटा अनुशासित र साहसी कर्मचारी थिइन् ।
त्यसैले उनले हार मानिनन् । अन्ततः जब उनी शिखरमा पुगिन्, उनले सबैभन्दा पहिले सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराइन् । प्रतिकूल मौसम र तीव्र हावाहुरीका बीच पनि संगठनको पोसाक शिखरमा पुर्याएर लगाउने आफ्नो सपना पूरा गरिन् ।
त्यो केवल एउटा आरोहणको सफलता थिएन । त्यो विश्वास, जिम्मेवारी, साहस र अडानको विजय थियो । कठिन परिस्थितिमा पनि आफूलाई नहार्ने अठोटले एक महिलालाई विश्वका दुई अग्ला हिमशिखरहरूको सफल आरोही बनायो ।
साहस, दृढ संकल्प र अथक मेहनतका साथ सगरमाथा र ल्होत्सेको शिखर चुमेकी निम डिकी शेर्पाको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली महिलाको क्षमता, आत्मविश्वास र सम्भावनाको प्रेरणादायी उदाहरण पनि हो ।








प्रतिक्रिया