काठमाडौं। नेपालको प्रतिनिधिसभा निर्वाचनले यसपटक एउटा ऐतिहासिक मोड लिएको छ। मतदाताले परम्परागत राजनीतिक शक्तिहरूप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ वैकल्पिक पार्टीलाई निर्णायक समर्थन दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमत प्राप्त गर्नु केवल एउटा चुनावी परिणाम मात्र होइन, यो नेपाली मतदाताको गहिरो अपेक्षा, परिवर्तनको चाहना र सुशासनप्रतिको स्पष्ट विश्वास पनि हो।
लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, शक्ति संघर्ष र कमजोर सेवा प्रवाहका कारण जनतामा चरम निराश रहदै आएको थिए। यही पृष्ठभूमिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पारदर्शिता, उत्तरदायित्व, परिणाममुखी र जनमुखी शासनको वाचा गर्दै जनतामाझ विश्वास जित्न सफल भएको देखिन्छ। दुई तिहाई बहुमतले अब पार्टीलाई केवल सरकार गठन गर्ने मात्र होइन, आवश्यकता परेमा नीतिगत तथा संरचनागत सुधार गर्न समेत पर्याप्त हुनेगरी अधिकार प्रदान गरेको छ।
तर बहुमतसँगै ठूलो जिम्मेवारी पनि आउँछ। जनताले दिएको यो जनादेशलाई अहंकार होइन, अवसरको रूपमा बुझ्नु आवश्यक छ। सुशासनको स्थापना, आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार जस्ता विषयमा अब परिणाम आउने गरी देखिनु जरुरी छ। विशेषगरी युवापुस्ताले राखेको अपेक्षालाई सम्बोधन गर्न सके मात्र यो ऐतिहासिक समर्थन दीर्घकालीन विश्वासमा परिणत हुन सक्छ।
अर्कोतर्फ, लोकतन्त्रमा बलियो प्रतिपक्ष पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। संसदभित्र र बाहिर हुने स्वस्थ आलोचना र बहसले सरकारलाई अझ जिम्मेवार बनाउँछ। त्यसैले नयाँ राजनीतिक परिस्थितिमा सबै दलहरूले लोकतान्त्रिक संस्कृतिलाई सुदृढ बनाउने दिशामा सबैले जिम्मेवार भूमिका खेल्नुपर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लागि अहिलेको क्षण उत्सवको भन्दा पनि जिम्मेवारीको हो। जनताको विश्वास जित्नु कठिन हुन्छ, तर त्यसलाई कायम राख्नु अझ कठिन हुन्छ। यदि पार्टीले आफ्नो घोषणापत्रमा उल्लेख गरे अनुसार पारदर्शी र प्रभावकारी शासन दिन सक्यो भने नेपालको राजनीतिक इतिहासमा यो परिणाम एउटा नयाँ युगको सुरुवातका रूपमा सदैव स्मरणीय बन्न सक्छ।
अन्ततः यो चुनावी परिणामले एउटा स्पष्ट सन्देश दिएको छ—नेपाली जनता परिवर्तन चाहन्छन्, र त्यो परिवर्तन अब व्यवहारमा देखिनु उतिकै आवश्यक छ।










प्रतिक्रिया