काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिलाको अधिकार, न्याय र समान अवसर सुनिश्चित नगरेसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताएकी छन् ।
११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले महिलाको सहभागिता मात्र बढाउनु पर्याप्त नभई अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।
‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ नेपालमा ‘सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ’ भन्ने राष्ट्रिय संकल्पसहित महिला दिवस मनाइएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सव नभई महिलाको अधिकार, समानता र सम्मानका लागि भएको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिन भएको उल्लेख गरिन् ।
उनले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनलाई नेपाली जनताको विजयको रूपमा उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियाबाट देशले संवैधानिक निकास प्राप्त गरेको बताइन् । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न योगदान गर्ने नागरिक, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल तथा पर्यवेक्षकप्रति उनले आभार व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा मतपत्र नागरिकको आत्मसम्मानको प्रतीक भएको उल्लेख गर्दै जनप्रतिनिधिले जनताको विश्वास कायम राख्दै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताइन् ।
उनका अनुसार नेपालको संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ भने समान प्रतिनिधित्व, समावेशी सहभागिता र सामाजिक न्यायलाई राज्य व्यवस्थाको आधार बनाएको छ । पछिल्ला वर्षहरूमा स्थानीय तहदेखि संघीय संसदसम्म महिलाको प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको उनले बताइन् ।
यद्यपि अझै पनि महिलाहरू विभेद, असमान अवसर र लैङ्गिक हिंसाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उनको भनाइ छ । उनले दलित, मधेस, कर्णाली तथा सीमान्तकृत समुदायका महिलाहरूको अवस्था अझ चुनौतीपूर्ण रहेको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, रोजगारी र नेतृत्व तहमा महिलाको पहुँच विस्तार गर्न राज्यले विभिन्न नीति तथा कार्यक्रम लागू गरिरहेको बताउँदै लैङ्गिक समानता र सामाजिक न्यायका लागि सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको धारणा राखिन् ।
उनले महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गरे मात्र लोकतन्त्र सुदृढ हुने र संविधानको मर्म कार्यान्वयन हुने बताउँदै समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माणका लागि सबैलाई हातेमालो गर्न आह्वान गरिन् ।
२४ फाल्गुन २०८२, आइतबार
276
Shares








प्रतिक्रिया