Logo

Breaking News 1

मुगुका कृषकलाई चुनावले छोएन, स्याउ बगैंचामै भ्याइनभ्याइ


८ फाल्गुन २०८२, शुक्रबार  

69
Shares

मुगु । देशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनको चटारो भएपनि मुगुका मतदाता कृषिकर्ममा व्यस्त छन् । चुनावले खानलाउन दिंदैन भन्दै मुगुबासी स्याउ बगैंचामा बिरुवा काँटछाँट ,गोडमेलदेखि बगैंचा घेराबारमा व्यस्त छन् ।

पुष, माघ र फागुन महिनाको समयमा स्याउ खेती गर्ने कृषकहरुलाई स्याउका बिरुवा काँटछाँट, गोडमेल, घेराबार गर्ने, निलोतुथो वा चुना लगाउने उपयुक्त समय भएकाले कृषकहरुलाई चटारो छ ।

पछिल्लो समय कर्णाली राजमार्ग सुधार भई जिल्लाको स्याउ उत्पादन हुने स्थानमा सडक सन्जालको पहुँच पुगेपछि स्याउको माग ठूला शहरहरुमा बढेको छ । जिल्लाका दर्जनै स्थानमा स्याउको राम्रो उत्पादन भएकाले फागुन दोस्रो हप्तासम्म बगैंचा व्यवस्थापन गर्नुपर्ने वाध्यता छ ।

तर पछिल्लो समय चुनावी गतिविधि गाउँ शहरमा बढेपनि किसानहरु उम्मेद्वारहरुप्रति आशावादी छैनन् । ‘चुनाबको लहर चलेपनि, यो एक दिनका लागि मात्र हो । वर्षभरी स्याउ खेतीबाट जीवन चल्छ । चुनावले के दिन्छ ? भोट पाएका नेताहरुले कृषकहरुका पिडा वा दुःख बुझ्दैनन् । यस्तोबेला चुनाव प्रचार प्रचार गर्ने नेताहरु भेट्नु भन्दा बगैंचामा गएर काम गर्नु महत्वपूर्ण हुन्छ,’ छाँयानाथ रारा नगरपालिका वडा नम्बर ७ का कृषक माया कुलालले भनिन् ।

यतिबेला चुनावमा लाग्नु भन्दा खेतीमै लाग्नु राम्रो भएको कृषक प्यारीलाल साहनीको बुझाइ छ । यस बर्ष स्याउको उत्पादन निकै राम्रो हुन सक्ने अनुमान भएको कृषि बिकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : ५६ बजे