काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन्।
बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरेका छन् ।
२००७ सालको जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको उल्लेख गर्दै उनले सो दिनले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक रूपान्तरणको मार्ग प्रशस्त गरेको बताएका छन् ।
‘फागुन ७— नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन । २००७ सालको ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको यस गौरवमय दिनका अवसरमा, म समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देश मार्फत थापाले भने ।
उनले मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले यही आन्दोलनमार्फत साहसी कदम चालेको उल्लेख गर्दै प्रजातन्त्रले सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको आधार निर्माण गरेको बताए।
थापाले २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को आन्दोलन हुँदै संघीयता र गणतन्त्रसम्म पुगेको नेपालको राजनीतिक यात्राको जननी पनि २००७ सालको क्रान्ति नै रहेको धारणा व्यक्त गरेका छन् ।
‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२÷६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो,’ शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रिय स्वाधीनता, नागरिक अधिकार र लोकतन्त्रका लागि भएका विभिन्न संघर्ष र आन्दोलनमा सहिदहरूले दिएको बलिदानलाई स्मरण गर्दै उनले संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्थायित्व तथा आर्थिक समृद्धि हासिल गर्न सके मात्र सहिदप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेका छन् ।










प्रतिक्रिया