Logo

Breaking News 1

मतपत्र छपाइको काम अन्तिम चरणमा, १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी



काठमाडौं । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।

हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । 

अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । तीन दिनमा मतपत्र छपाइ सकिने अनुमान गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए । छापिएका जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ । 

गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार दुई सय नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी गरिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ ।

छपाइ सम्पन्न भएको मतपत्र आजैदेखि आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ । 

कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ६ : ५५ बजे