Logo

Breaking News 1

आजपाले सार्वजनिक गर्याे घोषणापत्र, व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’सम्मका एजेन्डा


१ फाल्गुन २०८२, शुक्रबार  

115
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले मुलुकको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक संकट र दलतन्त्रको असफलतालाई प्रमुख आधार बनाउँदै ‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित व्यापक संरचनात्मक सुधारको प्रस्ताव अघि सारेको छ ।

घोषणापत्रमा देश हाल अस्थिर राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गरिएको छ । दुई–तिहाइको सरकार बर्खास्त, संसद् विघटन र ‘जेनजी आन्दोलन’पछि निर्धारित समयभन्दा अगाडि निर्वाचन गर्नुपर्ने अवस्था आएको दाबी गरिएको छ । हाल सुशीला कार्की नेतृत्वको चुनावी सरकार रहेको उल्लेख गर्दै आजपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पार्टीले संविधानमै कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने व्यवस्था गर्नुपर्ने, गैरआवासीय र विदेशीलाई नागरिकता दिने प्रावधान खारेज गर्नुपर्ने तथा ‘नो भोट’, ‘राइट टु रिकल’ र ७० वर्ष नाघेकालाई कार्यकारी पदमा रोक जस्ता प्रावधान समावेश गर्नुपर्ने माग राखेको छ ।

घोषणापत्रमा देशको सार्वजनिक ऋण करिब २८ खर्ब पुगेको, प्रतिव्यक्ति ऋणभार ९६ हजार रुपैयाँ नाघेको तथा बेरुजु रकम १३ खर्ब पुगेको उल्लेख गर्दै वित्तीय अराजकता चरम अवस्थामा पुगेको दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमा कमजोरीका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र त्यसले वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय कारोबारमा असर पारेको जनाइएको छ ।

आजपाले ‘तीनखम्बे अर्थनीति’ लाई सुदृढ गर्दै बजारमुखी अर्थतन्त्रलाई प्राथमिकता दिने, कालो धन फिर्ता ल्याउने, भगौडाको सम्पत्ति कब्जा गर्ने र भ्रष्टाचारविरुद्ध ‘आईटी आर्मी’ परिचालन गर्ने नीति सार्वजनिक गरेको छ ।

कृषि सुधारका लागि बाँझो तथा टुक्रा जमिन एकीकृत गरी ‘भूमि बैंक’ अवधारणा लागू गर्ने, हरेक वडामा शीतभण्डार स्थापना गर्ने र स्वदेशी उत्पादनलाई आयातित वस्तुभन्दा सस्तो बनाउने नीति लिइने बताइएको छ । ‘ग्रीन इकोनोमी’ अन्तर्गत चुरे संरक्षण, वैज्ञानिक तटबन्ध र जडीबुटी प्रशोधन उद्योग स्थापना गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ ।

‘हर हातमा हुनर र युवालाई रोजगार’ मुख्य लक्ष्य रहेको उल्लेख गर्दै पार्टीले ‘एक घर, एक रोजगारी’ कार्यक्रम ल्याउने र रोजगारी नपाउन्जेल बेरोजगारी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने, युवा उद्यमीलाई १० देखि २५ लाख रुपैयाँसम्म बिनाधितो ‘सीड मनी’ उपलब्ध गराउने तथा हरेक विद्यार्थीलाई कम्तीमा एक प्राविधिक सीप अनिवार्य गराउने प्रस्ताव गरिएको छ ।

हरेक नगरमा खेल मैदान निर्माण र खेलाडीलाई उच्च सम्मान दिने नीति पनि समावेश गरिएको छ । शिक्षातर्फ पूर्ण साक्षर राष्ट्र, स्मार्ट क्लासरुम र ‘एक स्थानीय तह, एक खेलग्राम’ कार्यक्रम ल्याइने बताइएको छ । स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार तथा हरेक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना अघि सारिएको छ ।

महिला सशक्तीकरणका लागि मौलापुर मोडेलमा विशेष अभियान सञ्चालन गरिने जनाइएको छ । मुख्य राजमार्ग विस्तार तथा स्तरोन्नति, सार्वजनिक पार्किङ व्यवस्थापन, राजमार्गमा अप्टिकल फाइबरसहित ‘डिजिटल करिडोर’ विकास र ‘डिजिटल ट्विन’ अवधारणामार्फत सहर योजना कार्यान्वयन गरिने उल्लेख छ ।

भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण तथा व्यवस्थित नयाँ सहर विकास गर्ने योजना पनि घोषणापत्रमा छ । ऊर्जा क्षेत्रमा विद्युत उत्पादन तथा निर्यात वृद्धि गर्ने, पिउने पानी उद्योग ‘ज्ष्mबबिथबल इचष्नष्ल’ विकास गरी ‘वाटर ट्रेडिङ’ गर्ने तथा वैकल्पिक ऊर्जालाई प्रोत्साहन गर्ने नीति सार्वजनिक गरिएको छ ।

आजपाले ‘युवालाई काम, बुढा नेतालाई आराम’, ‘खल्तीमा मोबाइल, मोबाइलमै रासन भ्रष्टाचारमुक्त हुने छ अबको शासन ।’ र ‘सिस्टम सुधार, स्थिर सरकार आजपा नै हो समृद्धिको आधार’ जस्ता नारासहित मतदातासमक्ष जाने घोषणा गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १ : ०१ बजे