सर्लाही । देशभरमा सबैभन्दा बढी स्थानीय तह भएको सर्लाही जिल्लाका २० वटा स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा बरहथवा नगरपालिका जिल्लाकै पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार बरहथवा नगरपालिका ६४.३९ अंक प्राप्त गरी कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै प्रथम बनेको हो। यस्तै, चन्द्रनगर गाउँपालिका जिल्लामा सबैभन्दा अन्तिममा रहेको छ । चन्द्रनगर गाउँपालिकाले ३५.१६ अंक प्राप्त गरेको छ।
आयोगको तथ्यांकअनुसार हरिवन नगरपालिकाले ६२.०२, हरिपुर नगरपालिकाले ६१.१९, कोडैना गाउँपालिकाले ५९.२०, बागमती नगरपालिकाले ५८.२१, लालबन्दी नगरपालिकाले ५७.२३, बिष्णु गाउँपालिकाले ५४.३५, धनकौल गाउँपालिकाले ५३.३७ र चक्रघट्टा गाउँपालिकाले ५१.८१ अंक प्राप्त गरेका छन् ।
यस्तै, बलरा नगरपालिकाले ५०.२७, मलंगवा नगरपालिकाले ४९.२५, ईश्वरपुर नगरपालिकाले ४६.८३, पर्सा गाउँपालिकाले ४६.०८, बसबरिया गाउँपालिकाले ४५.६१, ब्रहम्पुरी गाउँपालिकाले ४४.५१, गोडैता नगरपालिकाले ४३.९६, हरिपूर्वा नगरपालिकाले ४२.८०, कविलासी नगरपालिकाले ४२.३६ र रामनगर गाउँपालिकाले ४०.५३ अंक प्राप्त गरेका छन्।
आयोगले स्थानीय तहका हकमा १७ सूचकमा मूल्यांकन गर्दै आइरहेको छ । १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, आर्थिक वर्ष २०८१÷०८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे नगरेको विषयलाई मूल्यांकनको सूचकमा राखिएको छ ।
यस्तै, आगामी आर्थिक बर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु सुत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, चारपटक गर्भ चेक गर्ने महिलाको अनुपात, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, एसइईको परीक्षाको नतिजा, बालबालिकाको खोपको अनुपात आदीलाई आयोगले मूल्यांकनको आधार मान्ने गरेको छ ।










प्रतिक्रिया