Logo

Breaking News 1

आज सुरक्षित इन्टरनेट दिवस विश्वव्यापी रूपमा मनाइँदै



काठमाडौं । आज सुरक्षित इन्टरनेट दिवस ‘एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू’ भन्ने नाराका साथ मनाइँदैछ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।

युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।

विशेषगरि यसले बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवद्र्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ । चाइल्ड सेफ नेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ ।

डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ ।

बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : ०२ बजे