काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको आकस्मिक निधनले नेपाली चलचित्र उद्योग शोकमा डुबेको छ। उनको निधनलाई चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
कलाकार प्रशान्त ताम्राकारले सुनिल थापाको निधनको खबरले आफू अत्यन्तै स्तब्ध भएको बताएका छन्।
उनले भने,‘हिजो राति साढे आठ बजेसम्म हामी सुटिङमा सँगै थियौँ। बिहान एक्कासी यस्तो खबर आयो, विश्वास नै गर्न सकिन। यो चलचित्र उद्योगका लागि ठूलो क्षति हो।’
ताम्राकारका अनुसार थापा शुक्रबारसम्म चलचित्र ‘रामनाम सत्य’ को सुटिङमा सक्रिय थिए। ‘हिजो क्लाइमेक्स सिन थियो, त्यो अन्तिम सुटिङ पनि थियो। हामी बसेर गफ ग¥यौँ, हाँस्यौँ र छुट्टियौँ। म पहिले निस्किएँ, उहाँको केही काम बाँकी भएकाले बस्नुभएको थियो,’ उनले सम्झिए।
उनले भावुक हुँदै थपे,‘हामी पर्सि दैलेखमा सुटिङका लागि जाने योजना बनाउँदै हाँसेर छुटेका थियौँ। मेरो चलचित्र यात्राको सुरुवात नै सुनिल दाइसँग भएको हो। संयोगवश, मेरो अन्तिम सुटिङ पनि उहाँसँगै भयो। चलचित्र उद्योगले उहाँका धेरै कुरा मिस गर्नेछ। उहाँ अझै धेरै काम गर्न बाँकी छ भन्नुहुन्थ्यो, नयाँ–नयाँ प्रोजेक्टका बारेमा कुरा गरिरहनुहुन्थ्यो।’
ताम्राकारका अनुसार बिहान करिब ४ बजे थापा सकुशल अवस्थामा बाथरुम गएको र करिब साढे ५ बजे अस्पताल पु¥याइएको जानकारी प्राप्त भएको थियो।
‘बिहान खबर सुन्दा म काँपिरहेको थिएँ,’ उनले भने। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा वरिष्ठ कलाकार थापाको निधन भएको अस्पतालले जनाएको छ।
उनको निधनको खबर फैलिएपछि नर्भिक अस्पतालमा कलाकार, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो।
शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। उनले दर्जनौँ नेपाली तथा भारतीय चलचित्रमा अभिनय गर्दै खलनायक र चरित्र कलाकारका रूपमा आफ्नो छुट्टै पहिचान बनाएका थिए।
नेपाली चलचित्र क्षेत्रले एक अनुभवी, कर्मठ र समर्पित कलाकार गुमाएको भन्दै कलाकार तथा चलचित्रकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।










प्रतिक्रिया