Logo

Breaking News 1

ब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी



काठमाडौँ । थापाथलीस्थित द ब्रिटिश कलेजविरुद्ध श्रृंखलाबद्ध झुटो भिडियो सामग्री प्रसारण गरेको डाँफे नेपाल टिभीले कलेजसँग औपचारिक रूपमा माफी मागेको छ ।

डाँफे नेपाल मिडियाका सञ्चालक दिपेश कुमार जैसवालले द ब्रिटिश कलेजलाई पत्र पठाउँदै आफूहरूबाट गल्ती भएको स्वीकार गरेका हुन् । सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालमा दर्ता भएको डाँफे नेपाल मिडिया प्रा.लिले सत्यतथ्य जाँच नगरी सामग्री प्रसारण गरिएको स्वीकार गरेको छ ।

कलेजलाई पठाइएको पत्रमा उल्लेख गरिएअनुसार द ब्रिटिश कलेजसम्बन्धी केही भिडियो सामग्रीहरू सम्पूर्ण तथ्य र यथार्थ नबुझी, आवश्यक सत्य जाँच नगरी प्रसारण गरिएको र ती सामग्रीहरू केही व्यक्ति तथा विद्यार्थीहरूबाट आएको दबाब र सूचनाको आधारमा तयार गरिएको डाँफे मिडियाको भनाइ छ ।

पत्रमा भनिएको छ, ‘यस कार्यको पूर्ण जिम्मेवारी डाँफे मिडियाले लिन्छ । यसलाई हामी आफ्नै गल्ती तथा गलत कार्यका रूपमा स्वीकार गर्दछौं ।’ साथै, कलेजको व्यवस्थापन, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबै पक्षलाई पर्न गएको मानसिक, सामाजिक तथा संस्थागत असरप्रति हार्दिक र निःशर्त माफी मागिएको छ ।

यसअघि द ब्रिटिश कलेजलाई धम्क्याएर ३० लाख रुपैयाँ असुल गर्न खोजेको आरोप लागेका विवेक ढकालले समेत डाँफे मिडियाको नाम लिएको प्रसंग सार्वजनिक भएको थियो । कलेजका पूर्व विद्यार्थी ढकालले अनुचित आर्थिक लाभ लिनको लागि मिडिया प्रयोग गरेको कलेजले आरोप लगाउँदै आएको छ। हाल प्रहरी हिरासतमा रहेका ढकालविरूद्ध मुद्दा चलिरहेको छ ।

त्यस्तै, कलेजविरूद्ध आन्दोलन गर्दै आएकी प्रियंका नेपाल, सजिना खड्काले पनि डाँफे मिडियालाई गलत सूचना दिएको कलेज प्रशासनको भनाइ छ । अरूको कुरालाई सत्य मान्दा मिडियाले गल्ती गरेको पत्रमा उल्लेख छ ।

सुधारात्मक कदमस्वरूप डाँफे नेपाल मिडियाले द ब्रिटिश कलेजसँग सम्बन्धित सम्पूर्ण भिडियो तथा सामग्रीहरू आफ्ना सबै डिजिटल प्लेटफर्मबाट हटाउने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ९ : १४ बजे