काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही माघ २२ गतेदेखि सुरु हुने भएको हो ।
विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक डा. गोकुल केसीबीच एक कार्यक्रमका अवसरमा प्रतियोगिता आयोजनासम्बन्धी सम्झौता पत्र आदान–प्रदान गरिएको हो।
प्रतियोगितामा पाँच खेल समावेश गरिएका छन्। टेबलटेनिसतर्फ चार, ब्याडमिन्टनमा चार, बास्केटबलमा दुई, एथलेटिक्समा छ र भलिबलमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। भलिबलतर्फ भने छात्रको मात्र खेल आयोजना गरिने समितिले जनाएको छ।
खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख तथा प्रतियोगिता सञ्चालन समितिका सचिव मिनकुमार शर्माका अनुसार प्रतियोगितामा कुल २७९ खेलाडीको सहभागिता रहनेछ । दुईदिने प्रतियोगिताअन्तर्गतका सबै खेलहरू धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको परिसरमा आयोजना गरिने छन्।
आयोजकका अनुसार विश्वविद्यालयस्तरका खेलाडीबीच प्रतिस्पर्धा गराई खेलकुद विकास र विद्यार्थीहरूमा खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।










प्रतिक्रिया