रामेछाप । रामेछापको सदरमुकाम मन्थलीलाई मध्यपहाडी लोकमार्गसँग जोड्ने सबैभन्दा छोटो दूरीको मन्थली–मुगिटार–त्रिवेणी सडकको बिचमा पर्ने भटौली खोलामा पुल निर्माणमा ढिलाइ भएको छ ।
मन्थली नगरपालिका–७ मुगिटार र खाँडादेवी गाउँपालिका–४ माढी मुहान जोड्ने भटौली खोलाको पुल निर्माणको म्याद गत भदौ महिनामा सकिएको भए पनि निर्माण कार्य अझै पूरा हुन सकेको छैन । करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण हुँदै गरेको उक्त पुलको निर्माण प्रक्रिया लामो समयदेखि अलपत्र परेको छ ।
निर्माण भइरहेको बेला खोलामा ठूलो बाढी आएर खोलाले धार परिवर्तन गरेपछि पुल निर्माण कार्य अन्योलमा परेको थियो । तर अहिले खोलाले कटान गरेको क्षेत्रमा तटबन्धन निर्माण गरी पुल निर्माण भइरहेको ठाउँमा खोलालाई पुनः ल्याइएको छ ।
खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले पुलको लम्बाइ र उचाइ केही बढाएर निर्माणको काम फेरि सुरु गरिएको जानकारी दिए । अहिले पुलमा रड बाँध्ने लगायतका कार्यहरू भइरहेको छ । उनका अनुसार यस आर्थिक वर्षभित्र निर्माण कार्य पूरा हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासीपुल निर्माणपछि मन्थलीबाट मुगिटार हुँदै भटौली खोला तरेर सोझै मध्यपहाडी लोकमार्गमा पुग्न सकिने बताउँछन् ।
मन्थलीदेखि मुगिटारसम्मको सडक पिच भइसकेको र मध्यपहाडी लोकमार्गको त्रिवेणीसम्मको भाग पनि पिच भएकोले थप पाँच किलोमिटर सडक पिच भएपछि मन्थलीबाट मध्यपहाडी लोकमार्ग पुग्ने दूरी छोटिने स्थानीय सन्तोष पौडेलले जानकारी दिए।
पुल बनेपछि मन्थलीबाट काठमाडौं जाने मार्ग छोटिने अपेक्षा गरिएको छ भने यसले स्थानिय जनजीवन, यातायात सुविधा र आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्ने स्थानीयवासीको भनाइ छ ।










प्रतिक्रिया