काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ ।
उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ ।
‘हामी धमाधम जिल्ला अधिवेशनहरु गरिरहेका छौं । कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहेपनि प्रतिकूल मौसमका कारण प्रभावित भएकाले २२ गतेसम्म सबै जिल्ला अधिवेशन सक्ने तयारीमा छौं,’ उनले भने ।
सबै जिल्ला अधिवेशन सकिएपछि मंसिर ४ गते सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने पनि उनले जानकारी दिए ।
इतर समूहले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने निश्चित भएको पनि नेता कुईकेलले जानकारी दिए ।
कुइँकेलका अनुसार महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुने साथै भोजनको व्यवस्था भृकुटीमण्डपमा हुनेछ । त्यस्तै, मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने भएको छ ।
आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनमा आठ हजारजति प्रतिनिधि सहभागी हुने कुइँकेलले जानकारी दिए ।
यता, गगन कुमार थापा नेतृत्वको संस्थापन पक्षले १५ औं महाधिवेशन सम्पन्न गरिसकेको छ । इतर पक्षले पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको हो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि दुई भागमा विभाजित कांग्रेसको आधिकारिकता विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ ।
विषेश महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले पाएको वैधतामाथि परीक्षण हुने भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न निस्सा दिएपछि उत्साहित भएको इतर समूह नियमित महाधिवेशनमा जुटेको हो ।
केन्द्रीय निर्वाचन समिति संयोजक तोकेर महाधिवेशनको तयारी गरिरहेको उक्त समूहले चाँडै विभिन्न समितिहरु बनाउने भएको छ ।
निवर्तमान सभापति देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गरिहेको हो ।
नेता कुइँकेलले दुई समूहमा विभाजित भएको कांग्रेस तत्काल एक हुने संभावना न्यून रहेको पनि जानकारी दिए । ‘अब दुई समूहबीच संवाद वा एकता हुने संभावना छैन । वडा अधिवेशनअगावै संयुक्त कार्यतालिका गरौं भन्ने हाम्रो प्रस्ताव थियो, त्यो उहाँहरुबाट चासो दिनु भएन । अब एकता संभव देखिदैन,’ उनले भने ।
‘हामी पार्टी विभाजन होस भन्ने मनस्थितिमा थिएनौं तर वाध्यकारी बन्यो । कानुनी भन्दा पनि राजनीतिक रुपमा नै समस्याको टुंगो लगाऔं भन्नेमा थियौं तर परिस्थिति त्यस्तो बनेन्,’ उनले भने ।








प्रतिक्रिया