विराटनगर। ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यम तथा व्यवसायलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र डिएआई–उदय परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार डिएआई–उदय परियोजनाले छनोट गरेका साना तथा लघु उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकका कोशी प्रदेशअन्तर्गतका सबै शाखा कार्यालयमार्फत सहजरूपमा कर्जा प्राप्त गर्नेछन्। यसबाट लगानीको अभावमा व्यवसाय विस्तार गर्न नसकेका उद्यमीलाई सहयोग पुग्ने र रोजगारी सिर्जनामा टेवा पुग्ने बैंकको विश्वास छ।
डिएआई–उदय परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलमा कोशी प्रदेश सरकारअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ। परियोजनाले कोशी प्रदेशका सबै जिल्लामा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन तथा उत्पादनमूलक उद्योग क्षेत्रका व्यवसायलाई वित्तीय स्रोतमा पहुँच सहज बनाउँदै आएको छ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकले बैंक अफ द इयर, बेस्ट बैंक नेपाल, युरोमनी अवार्ड फर एक्सलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट इम्प्लोयरजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ।










प्रतिक्रिया