Logo

खेलकुद

नेपाल एएफसीको कारबाहीमा पर्‍यो



काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियाली फुटबल महासंघ (एएफसी)ले जरिवाना गरेको छ। एएफसीले आफ्नै आधिकारिक प्रतियोगितामा ढिलो मैदान प्रवेश गरेको कारण एन्फामाथि २,००० अमेरिकी डलर जरिवाना तोकेको हो।

एएफसीको कारबाही एसियन कप छनोट अन्तिम चरणअन्तर्गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध खेलको क्रममा भएको ढिलाइका कारण गरिएको हो। सो खेलमा नेपालले पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिलो प्रवेश गरेको कारण दुवै टोलीलाई जरिवाना गरिएको थियो। मलेसियालाई २,५०० डलर जरिवाना गरिएको छ।

त्यसैगरी, मलेसियाका रक्षक मोहम्मद फैसल बिन अब्दुल हलिमलाई ‘प्लेयर अफ दी म्याच’ भएपछि पोस्ट म्याच पत्रकार सम्मेलनमा अनुपस्थित रहँदा १०,००० डलर जरिवाना गरिएको छ। मलेसिया फुटबल संघमाथि पनि सोही कारण १०,००० डलर जरिवाना लगाइएको छ। जरिवाना रकम जनवरी १५ भित्र तिर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल समूह ‘एफ’ मा अन्तिम स्थानमा रहेर अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगिताबाट बाहिरिएको थियो। समूहका पाँच खेलमा नेपालले अंकसमेत जोड्न सकेको थिएन। मलेसिया समूहको शीर्ष स्थानमा रहँदै साउदी अरेबियाका लागि छनोट भएको थियो। भियतनाम दोस्रो स्थानमा (१२ अंक) र लाओस तेस्रो स्थानमा (३ अंक) रहेको थियो।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १२ : १८ बजे