काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समुदाय तथा संस्थालाई आवेदन दिन आग्रह गरेको छ ।
मन्त्रालयले बुधबार सावर्जनिक सूचना जारी गर्दै अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ अनुसार यस आ.व. २०८२-८३ का लागि सूचीकरण प्रक्रिया अघि बढाएको जनाएको हो ।
सूचना अनुसार अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले तोकिएको ढाँचामा आवेदन फारम भरी २०८२ चैत १५ गतेभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ । आवेदन फारम तथा अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ मन्त्रालयको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।
साथै मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गत अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरण सचिवालयमा सम्पर्क गरी पनि आवश्यक कागजात प्राप्त गर्न सकिने जनाइएको छ ।
मन्त्रालयका अनुसार सम्पदा सूचीकरण गर्ने विधि, प्रक्रिया तथा सूचीकरणसँग सम्बन्धित अन्य आवश्यक कार्यहरू कार्यविधिमा तोकिएबमोजिम हुनेछ । अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि आवेदन प्रत्येक वर्ष नियमित रूपमा चैत १५ गतेभित्र दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
सूचीकरणसम्बन्धी आवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखामा बुझाउनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउन यो प्रक्रिया महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ ।
३ पुस २०८२, बिहिबार
161
Shares









प्रतिक्रिया